धनगढी, १७ फागुन/सुदूरपश्चिम प्रदेश सरकारले विश्वासको मत लिनुपुर्व मन्त्रालय बाँडफाँडको टुङ्गो लगाउने तयारीमा जुटेका छन् । गठबन्धनमा रहेका अन्य दल विश्वासको मत दिन तयार भए पनि माओवादी केन्द्रले पहिले शक्ति बाडफाँटमा सहमति खोजेको छ । त्यसै गरी अन्य दलले पनि सहमतीमै मन्त्रालय टुङ्गो लगाउनका लागि छलफलमा जुटेका छन् । सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई अहिले गठबन्धनका दल बिच छलफलमा जुटेका छन् ।
काँग्रेसबाट मुख्यमन्त्री बनेका कमलबहादुर शाहले माओवादीलाई सहमत गराएर फागुन २१ गतेभित्र विश्वासको मत लिने तयारी सुरु गरेका छन् । माओवादी सरकार जान माओवादीले चाहेका मन्त्रालय माग गरेको छ ।विश्वासको मत लिन नसकेपछि एमालेका राजेन्द्रसिंह रावलको सरकार गत माघ २६ गते ढलेसँगै ठुलो दलको संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका काँङ्ग्रेसका कमलबहादुर शाहले फागुन २५ गतेभित्र विश्वासको मत लिइसक्नु पर्नेछ ।
शाहलाई विश्वासको मत दिन गठबन्धनमा रहेका काङ्ग्रेस, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी तयार छन् । मुख्यमन्त्री शाह भने माओवादी सहभागी नभए पनि फागुन २१ भित्रै विश्वासको मत लिने र गठबन्धन रहका दलका शीर्ष नेताको निर्णयअनुसार पछि पद बाँडफाँट गर्ने मुडमा देखिएका छन् ।’फागुन २१ गते अगाडि नै विश्वासको मत लिने तयारी छ,’ मुख्यमन्त्री शाले भने, ’पछि राष्ट्रपति निर्वाचन पनि छ त्योभन्दा अगाडि विश्वासको मत लिने विषयमा सबै दलहरूसँग छलफल भइरहेको छ ।’
यसअघि एमाले नेतृत्वको सरकार विश्वासको मत नदिएर ढालाएको नागरिक उन्मुक्ति पार्टी भने मुख्यमन्त्री शाहलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने तयारीमा लागेको छ । एमाले नेतृत्वमा बनेको सरकारमा विनाविभागीय मन्त्री रहिसकेका सुदूरपश्चिममा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्टले शीर्ष तहमा शक्ति बाँडफाँटको विषय टुंग्याएर मात्रै सरकारमा सहभागी हुने पक्षमा पार्टी रहेको बताएका छन् । अहिले शीर्ष नेतासँग छलफल गर्न काठमाडौंमा रहेका भट्टले पनि २१ गतेभित्रै प्रदेश सरकारले विश्वासको मत लिने बताएका छन् । उनले प्याकेजमै सहमति गरेर विश्वासको मत दिने र पार्टी सरकारमा पनि सहभागी हुने बताएका छन्।
अहिले भने महत्वपूर्ण मन्त्रालयसहित सरकारमा सहभागी हुने र साढे दुई वर्षपछि सुदूरपश्चिम सरकारको नेतृत्व आफ्नो पार्टीले पाउनुपर्ने लबिङ माओवादी केन्द्रको छ । अहिले मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्रालय काँग्रेस र अर्थ मन्त्रालय समाजवादीले लिएको छ । माओवादी र उन्मुक्ति पार्टी पनि सहभागी भएपछि भने मन्त्रालय हेरफेर हुने देखिन्छ ।