काठमाडौं । राप्रपा सरकारबाट बाहिरिने भएको छ । नेता बुद्धिमान तामाङले दिएको जानकारीअनुसार राप्रपाको भर्खरै बसेको बैठकले यस्तो निर्णय गरेको हो । उनका अनुसार राप्रपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिनेछ ।राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा प्रदेश सरकारमा पनि राप्रपाले दिएको समर्थन फिर्ता लिनेछ ।
“शुभेच्छुकहरुको ठूलो पंक्तिको असहमतिका बीच नेपालको निर्णायकत्व नेपालीको हातमा स्थापित गर्दै देशमा बलियो राष्ट्रिय शक्ति निर्माण, राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह र स्थिरतालाई मूल आधार बनाएर २०७९ पुस १० गते राप्रपासमेतको समर्थनमा वर्तमान सरकार गठन भएको हो,” उनले भनेका छन्, “यसै पृष्ठभूमिमा माघ ३ गते हामी सरकारमा समेत सहभागी भई क्रियाशील रहेको बेला वर्तमान सत्ता सहकार्यमा आकस्मिक परिवर्तन भई मुलुक पुनः सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको छ ।
यो हाल देखिएको सत्ता परिवर्तनको प्रवृत्ति र प्रक्रिया वर्तमान संविधानको संरचनामा निहित अस्थिरताको स्वभाविक चरित्र हो भन्ने हाम्रो ठहर रहेको छ । परिवर्तित सन्दर्भमा राप्रपा सत्तामा रहिरहनु अनुपयुक्त हुने ठहर गर्दै आजबाटै सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने निर्णय गरेका छौँ । साथै प्रदेश सरकारमा पनि राप्रपाको यसै बमोजिमको दृष्टिकोण रहेकाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रदेश सरकारबाटसमेत बाहिरिने निर्णय गरिएको छ ।”