काठमाडौं १३ फागुन/नेपाली कांग्रेसले राष्ट्रपतिको उमेदवार रामचन्द्र पौडेललाई बनाउने निर्णय गरेको छ । आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उमेदवार बनाउने निर्णय गरेको हो ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस नेता रामचन्द्र पौडेलको नाम राष्ट्रपति उमेदवारमा प्रस्ताव गरेका थिए ।बैठकले पौडेलको नाममा निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठ दलको बैठकमा कांग्रेसलाई राष्ट्रपति पद दिने प्रस्ताव गरेको र उपस्थित आठ दलका शीर्ष नेताले समर्थन जनाएकाले पौडेल आठ दलका साझा उमेदवार बनेका छन् ।
यसअघि शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदमा प्रतिनिधित्व गर्ने आठ दलको बैठकले राष्ट्रपतिमा कांग्रेस उमेदवारलाई सघाउने निर्णय गरेका थियो । आठ दलको सहमति पाएर राष्ट्रपति जित्ने सुनिश्चित भएपछि कांग्रेसले पौडेललाई उमेदवार छानेको हो ।
पौडेल नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाभन्दा पहिलेदेखि लागेका हुन् । २०१८ साल देखि नै कांग्रेसको राजनीतिमा लागेका पौडेल नेपाली कांग्रेसको महामन्त्री, उपसभापति र कार्यवाहक सभापतिसम्म भएका छन् । सरकारमा पनि उनले उपप्रधानमन्त्रीसहित, गृह, कृषिसहितका मन्त्रालय सम्हालको छन् । भने २०५१ सालमा मध्यावधिबाट आएको संसदमा उनले सभामुखको भूमिका पनि सम्हालिसकेका छन् ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा शुक्रबारको बैठकमा कांग्रेससहित, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चा सहभागी थिए । राष्ट्रपति निर्वाचनका लागि आज उमेदवारी दर्ता हुँदै छ । यसका लागि बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्मका लागि समय तय गरिएको छ ।