धनगढी, २९ माघ/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेट भएको छ।आइतवार काठमाडौँको डिल्लीबजार कारागार पुगेर मुख्यमन्त्री शाहले उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई भेटेका हुन्। एमाले नेतृत्वको प्रदेश सरकारले विश्वास मत पाउन नसकेर ढलेपछि मुख्यमन्त्री बनेका शाहलाई विश्वासको मत लिन नागरिक उन्मुक्ति पार्टीको सहयोग आवश्यक छ।
सरकार गठनमा साथ दिएको नागरिक उन्मुक्तिले एक महिनामै साथ छाडेपछि एमालेका राजेन्द्रसिँह रावल विश्वासको मत प्राप्त गर्न नसकेर पद मुक्त भएका थिए। मुख्यमन्त्री शाहले पनि फागुन २५ गतेसम्म विश्वासको मत लिसक्नुपर्ने छ। विश्वासको मतका लागि मुख्यमन्त्री बनेको दुई दिनमै उनी रेशम चौधरी भेट्न डिल्लीबजार कारागार पुगेका हुन्।
मुख्यमन्त्री शाहले जानकी गाउँपालिकास्थित नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीको घरमा पुगेर परिवारसँग भेटघाट गरेका थिए। शनिवार बिहान मुख्यमन्त्रीले चौधरीकी आमा सुनफीदेवी चौधरी र दिउँसो नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसँग समेत टीकापुरमा भेटघाट गरेका थिए।