काठमाडौं १९ माघ/१३ वर्ष पुरानो आगजनीको घटनामा ६ महिना कैद सजाय सुनाइएका कैलाली–२ का सांसद अरुणकुमार चौधरी बिहीबार पक्राउ परे ।बाँकेमा पक्राउ परेका उनलाई प्रहरीले शुक्रबार मात्र अदालत लैजाने तयारी गरेको छ । ट्याक्टरमा आगजनी गरेको मुद्दामा उनीसहित ३ जनालाई कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
सांसद चौधरीले ६ महिना कैद र ८ लाख ७५ हजार जरिवानाको एक तिहाइ जरिवाना तिर्नुपर्नेछ । तर कानुन अनुसार उनले जेल नबसी पनि सजाय भुक्तान गर्न सक्नेछन् ।मुलुकी फौजदारी कार्यविधी संहिता ऐन, २०७४ को दफा १५५ मा ‘एक वर्षभन्दा कम कैद बापत रकम तिर्न सकिने’ व्यवस्था छ । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जवीराज रेग्मीका अनुसार कसूर गरेको तरिका, आचरण लगायतका पक्ष विचार गरी अदालतले रकम लिएर पनि छाड्न सक्नेछ । यसरी छुट्दा उनले दिनको ३०० रुपैयाँका दरले रकम तिर्नुपर्छ ।
‘आगो लगाएको’ मुद्दा सांसद हुन अयोग्य हुने खालको कसुर नभएकाले चौधरीले रकम बुझाएर छुटेमा भोलिपल्टदेखि नै सांसदको रुपमा काम गर्न पाउँछन् ।कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी भएको थियो । ट्याक्टरधनी मोतीपुरका महादेव बजगाईंले आफ्नो ट्याक्टरमा आगो लगाइदिएको भनी पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी दिएका थिए ।
जिल्ला अदालत कैलालीले ९ वैशाख २०७० मा तीनै जनालाई दोषी ठहर कैद तथा जरिवाना सुनाएको हो । फैसला भएको करिव एक दशकसम्म पनि आरोपितहरु फरार नै थिए । दोषी ठहर भएकामध्ये वीरबहादुर चौधरी एक साताअघि पक्राउ परेका थिए ।वीरबहादुर चौधरीलाई कैलालीका जिल्ला न्यायाधीश डल्लुराम चौधरीलाई मुलुकी फौजदारी कार्यविधी संहिता ऐन, २०७४ को दफा १५५ अनुसार रकम तिरेर छुट्न नपाउने भन्दै कैद भुक्तानीका लागि जेल नै पठाएका थिए । त्यसैले अरुणकुमारको हकमा के हुन्छ भन्ने एकीन छैन ।
अनलाईनखबरबाट