धनगढी, ११ माघ/बाजुरामा मंगलबारको भूकम्पपछि परकम्प जानेक्रम जारी छ । तर, सानातिना परकम्प मात्र गइरहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
उक्त भूकम्पपछि केही संख्यामा परकम्प मापन गरिएको केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए । उनका अनुसार ती परकम्प चार म्याग्निच्युडभन्दा मुनिका थिए । अहिलेसम्म त्यहाँ चार म्याग्निच्युड वा त्योभन्दा बढीको परकम्प मापन गरिएको छैन ।“परकम्प गएका छन् । चारमाथि गएको छैन,” उनले भने, “चार म्याग्निच्युडभन्दा मुनिका परकम्प गएका छन् ।”
पछिल्लोपटक आज बिहान ९ बजेर ४० मिनेटमा ३।९ म्याग्निच्युडको परकम्प मापन गरिएको उनले बताए । यो परकम्पको केन्द्रविन्दु बाजुराको बिच्छ्या आसपास नै थियो । सोही ठाउँ केन्द्रविन्दु भएर मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५।९ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्पले चर्काएका, कमजोर बनाएका संरचना परकम्पका कारण भत्कन सक्ने सम्भावना हुन्छ । त्यसैले भूकम्पपछि पनि सजग हुनुपर्ने भूकम्पविद्को भनाइ छ । मंगलबारको भूकम्पका कारण बाजुरामा एकजनाको मृत्यु भएको छ । केही घरहरू भत्किएका छन् ।