धनगढी, ९ माघ/प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलबीच सोमबार काठमाडौंमा भेटवार्ता भएको छ।सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो। मुख्यमन्त्री सचिवालयका एक सदस्यका अनुसार दुवै जनाबीच समसामयिक राजनीतिक विषय र सुदूरपश्चिमका विकास सम्भावनाका बारेमा छलफल भएको छ।
‘मुख्यमन्त्री ज्यूले कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाह, निर्माणाधीन महाकाली करिडोर, दैजी–छेला औद्योगिक क्षेत्र, पश्चिम सेती जलविद्युत आयोजना र सेती लोकमार्गलगायत विभिन्न राष्ट्रिय गौरबका आयोजनाको बारेमा प्रधानमन्त्री दाहाललाई जानकारी गराएका छन,’ सचिवालयका ती सदस्यले भने।
मुख्यमन्त्री रावलले आयोजनाहरुको हालको अवस्था, प्रगति विवरण र थप बजेटका बारेमा पनि प्रधानमन्त्री दाहालसँग कुरा राखेका थिए।त्यसक्रममा प्रधानमन्त्री दाहालले सुदूरपश्चिमबाटै आफूले विकासे आयोजनाहरुको अनुगमन, निरीक्षण गर्ने जानकारी मुख्यमन्त्री रावललाई गराएका छन्।
‘सम्भवत फागुन १ गते कञ्चनपुरमा हुने औद्योगिक मेलाको उद्घाटन गर्न म आउछु,’ दाहालको भनाइँ उद्र्धृत गर्दै सचिवालयका ती सदस्यले भने, ‘त्यसैक्रममा सुदूरपश्चिमबाटै विकासे आयोजनाहरुको अनुगमन सुरुवात गर्छु।’ कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी नेतृत्वको टोलीले पनि आजै प्रधानमन्त्री दाहालसँग भेटेर मेला उद्घाटनका लागि निम्ता गरेका छन्।
राजनीतिक अवस्था अहिलेझँ सामान्य रहेमा फागुन १ गते आफू मेला उद्घाटनका लागि कञ्चनपुर आउने जवाफ प्रधानमन्त्री दाहालले दिएको उनको नीजि सचिवालयका एक सदस्यले बताए।एमाले सुदूरपश्चिमका संसदीय दलका नेतासमेत रहेका रावल २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। रावल एमालेसहित नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री रावलले विश्वासको मत पाउन भने बाँकी छ।