धनगढी, २३ पुस/देशका पहाडी भूभागमा आंशिक बदली रही तराईका केहि भूभागहरूमा हुस्सु र कुहिरो शीतलहर लागिरहेको छ। एक हप्ता अघिदेखि भइरहेको शीतलहर र चलेको चिसो हावाका कारण चिसो बढ्दै गएको हो। हुस्सु र शीतलहरले तापक्रम घट्दै गएको छ।
चिसो बढेपछि दैनिकीसमेत प्रभावित हुन थालेको छ। चिसोले गर्दा बालबालिका, ज्येष्ठ नागरिक, मजदुर, निम्नवर्ग र सीमान्तकृत समुदायका व्यक्ति प्रभावित भएका छन्। चिसोले अहिले सबैभन्दा बढी समस्या विद्यार्थीलाई भइरहेको छ। उनीहरु कठ्याङ्ग्रिदै विद्यालय गइरहेका छन्। चिसो बढेसंगै कैलालीको एक र कञ्चनपुरका २ पालिकाले मात्रै विद्यालयमा विदा दिएको छ ।
चिसो बढ्दै गएपछि कैलालीका विद्यालयमा जाडो बिदा दिनुपर्ने आवाज उठ्न थालेको छ। स्थानीय तहले विद्यार्थी, बालबालिकाको मर्कालाई दृष्टिगत गरेर बिदा दिनुपर्ने धेरैको जोड छ। जाडोका कारण विद्यार्थी बिरामी पर्न थालेका छन्।
जाडो बढेपछि मान्छे जताततै आगो तापेको देखिन्छ। आगो ताप्नका लागि केही स्थानीय तहले दाउरा पनि वितरण गरेका छन्। चोकसहित सार्वजनिक स्थानमा आगो बाल्नका लागि जिल्लास्थित सामुदायिक वन र डिभिजन वन कार्यालयले दाउराको व्यवस्थापन गर्नुपर्ने केही दिन अगाडि बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको थियो। जाडोका कारण बालबालिका र ज्येष्ठ नागरिक, सीमान्तकृत वर्ग बढी प्रभावित हुने गर्दछन्।
यस्तै आगामी २४ घण्टामा तराईका धेरै भूभागहरूमा बाक्लो हुस्सु र कुहिरो लाग्ने र दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
