धनगढी, १९ पुस/नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले माघपछि प्रदेशसभाको कुनै पनि बैठक चल्न नदिने चेतावनी दिएका छन् । सभामुख तथा ज्येष्ठ सदस्य मानबहादुर रावलले सोमबार बसेको पहिलो बैठकमा दलका मुख्य नेतालाई मन्तव्यका लागि छुट्याएको विशेष समय बोल्दै चौधरीले उक्त चेतावनी दिएका हुन् ।
मन्तव्यका क्रममा चौधरीले माघभित्र टीकापुर घटनाका बन्दीहरूको निकास ननिकालिए त्यसपछि कुनै पनि बेला बैठक अवरुद्ध गर्ने बताए । ‘०७२ को टीकापुर घटनालाई आपराधिक होइन, राजनीतिक घटनाका रूपमा लिनुपर्छ,’ उनले भने, ‘टीकापुर घटना कसैको स्वार्थमा गराइएको थिएन । हाम्रो निधारमा कलंकको टीका लागेको छ । हामीलाई कदापि सह्य हुँदैन ।’
कांग्रेस सांसद शिवराज भट्टले सबै सांसदले दलीय आग्रहभन्दा माथि उठेर प्रदेशको विकासमा एकजुट हुनुपर्नेमा जोड दिए । माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले प्रदेशसभा सबैका सपना, भावना र संकल्पहरूलाई योजनामा बदलेर राष्ट्र र जनताका अपेक्षाहरूमा खरो उत्रने थलो भएको बताए । ‘अजंग चुनौती र अक्षुण्ण सम्भावना र हजारौं जवाफहरू दिनुपर्ने उत्तरदायित्व प्रदेशसभामा रहेको छ,’ उनले भने, ‘जनताको चाहना, भावनाअनुसार चल्नुपर्ने आवश्यकताबोधले मात्रै प्रदेश चाहिँदैन भन्ने आवाजहरूलाई मत्थर पार्न सकिन्छ ।’
सुदूरपश्चिम अभावको थलो भएको उल्लेख गर्दै सांसद भट्टले यस प्रदेशमा सूर्य पनि अस्ताउन मात्र आउँछ भन्ने भनाइ रहेको स्मरण गरे । ‘तर सुदूरपश्चिममा अथाह सम्भावना छन् । यो प्रदेश गौरवशाली प्रदेश हो । प्रदेशसभा एक नम्बर प्रदेश बन्नुपर्छ,’ उनले भने, ‘जनअपेक्षाहरूको सुनुवाइ गरेर प्रदेशसभाको गरिमा बढाउन सबै सदस्यहरू लाग्नुपर्नेछ । राजनीतिक र दलगत संकीर्णताबाट माथि उठेर काम गर्नु छ ।’
पहिलो बैठकमा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले गेटा मेडिकल कलेज सञ्चालनमा आउन नसकेको उल्लेख गर्दै गेटालाई मेडिकल युनिभर्सिटी बनाउने संकल्प गर्नुपर्ने बताए । उनले सुदूरपश्चिम देवभूमि भएको बताउँदै विकासका अनेकौं सम्भावना बोकेको यो प्रदेश विकासको पर्खाइमा रहेको भनाइ राखे । ‘हामी आउने पुस्तालाई पत्याउने बनेका छैनौं, विकास गर्ने होइन विकास खाने बनेका छौं,’ उनले भने, ‘दूरदृष्टिको अभाव देखिएको छ । यसअघिको सरकारले दीर्घकालीन योजना निर्माण गर्न सकेन । सय वर्षको भिजन दिनुपर्छ ।’
उनले सबै सांसदलाई जनताको सेवक बन्ने भावना राख्न आह्वान गरे । ‘सदनमा एक हौं । हामी जुटे पहाड फोड्न सक्छौं । आर्थिक अनियमितता रोकौं,’ उनले भने ।हाल भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारीले प्रदेशप्रति धेरै प्रश्न उठाइएको बताए । तर संघले अधिकारहरू प्रदेशमा नदिने, दिनुपरे पनि मन सानो गर्ने अनि प्रदेशले गर्न सकेन भन्ने अवस्था रहेको चर्चा गरे । आगामी दिनमा सबै प्रश्न र चुनौतीको जवाफ दिएर प्रदेशलाई सशक्त बनाउनुपर्ने उनको भनाइ थियो ।
पहिलो प्रदेश सरकारले केही गर्दै गरेन भन्ने साँचो नभएको जिकिर सोडारीको थियो । उनले एक हजार किलोमिटर सडक निर्माण गरेको बताए । खप्तडमा पुग्न सहज होस् भनेर झिग्रानासम्म कालोपत्र सडक निर्माण गरेको उनको भनाइ थियो । सबै समस्या प्रदेशले मात्रै समाधान गर्न नसक्ने उल्लेख गर्दै संघ र स्थानीय तहको साझा प्रयत्नबाट मात्र सम्भव हुने बताए ।
‘संविधानले संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य, सहअस्तित्वको कुरा गरेको छ तर एकअर्काप्रति सकारात्मक धारणा देखिन्न,’ उनले भने, ‘आगामी सरकारले प्रदेशका आयोजनाहरू अघि बढाउनुपर्नेछ । काम गरेरै प्रश्नहरू आउन नदिने हो ।’ विगतमा प्रदेशसभा र सरकारबीच अन्तरविरोध आउने गरेको उनले स्मरण गरे । सोडारीले प्रदेशको आम्दानी एक अर्ब लगभग मात्रै भएको बताए ।
संघमा निर्भरता घटाउनुपर्नेमा जोड दिँदै उनले प्रदेशको आम्दानीको दायरा फराकिलो गर्दै सक्षम हुनुपर्नेमा जोड दिए । ‘माथिको स्रोतमा भर परेर जनताका तमाम अपेक्षा पूरा गर्न कठिन छ,’ उनले भने ।राप्रपाकी सांसद खेमादेवी विष्टले सम्भावनाले भरिपूर्ण सुदूरपश्चिम विकासले पछि परेकाले विकासमा सबै एकजुट हुनुपर्ने बताइन् । उनले यस प्रदेशमा महिलाहरू पीडित हुनुपरेकाले उनीहरूलाई आत्मनिर्भर बनाउन प्रदेश सरकारले पहल गर्नुपर्नेमा जोड दिइन् ।
स्वतन्त्र सांसद ताराप्रसाद जोशीले इतिहासले अहिले उपस्थिति जनप्रतिनिधिलाई महत्त्वपूर्ण अभिभारा दिएको बताए । उनले सुदूरपश्चिममा बेरोजगारी मुख्य चुनौती रहेको बताए । बेरोजगारी घटाउन नसके विदेशी भूमिमा अकालमा ज्यान गुमाउनुपर्ने परिस्थितिको अन्त्य नहुने उनको भनाइ थियो । बेरोजगारी न्यूनीकरण गर्न नसके जस्तोसुकै व्यवस्था भए पनि टिकाउ नहुने औंल्याए । ‘हाल पहाडमा बस्ने परिवार तराईमा घडेरी किन्न नसकेर मात्रै बसिरहेका छन् । यस परिस्थितिले कति असन्तुलित गर्छ भन्ने ख्याल गर्नु जरुरी छ,’ उनले भने, ‘सुदूरपश्चिमको सबल पक्ष कृषि क्षेत्र हो तर परम्परागत ढर्राले हुँदैन ।’