काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका गरी तीनजना उपप्रधानमन्त्री बनेका छन् । शपथअघि बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको थियो । प्रचण्डलाई संविधानको धारा ७६(२) बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
शपथ भने सोमबार अपराह्न भएको हो । मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेलले प्राप्त गरेका छन् । यस्तै, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको रूपमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा रवि लामिछाने रहेका छन् । अर्थमन्त्री पौडेलले यसअघि पनि अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका नेता श्रेष्ठले यसअघि पनि परराष्ट्रमन्त्री र गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । यस्तै, मन्त्रीहरू ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई र अब्दुल खान पनि मन्त्रिपरिषद्मा सहभागी भए पनि मन्त्रालय भने तोकिएको छैन ।