काठमाडौं, २५ कात्तिक । नेपाल पुलिस क्लबमाथि दुई विकेटको रोमाञ्चक जित निकाल्दै शुक्रबार त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुलिसले प्रस्तुत गरेको ३०५ रनको विशाल लक्ष्य आर्मीले ४९।५ ओभरमा आठ विकेट गुमाएर पूरा गर्यो ।
आर्मीको जितमा रोहितकुमार पौडेलले ८९ रन बनाए । उनले ८७ बलमा नौ चौका प्रहार गरे । हरि चौहानले ९२ बलमा आठ चौका र एक छक्कासहित ७५ रन बनाए । यस्तै, राजेश पुलामी मगर ४३ रनमा अविजित रहँदा कप्तान विनोद भन्डारीले ३२, विक्रम सोबले ३०, ओपनर अर्जुन साउदले ११ र भिम सार्कीले १० रन जोडे ।
पुलिसका करण केसीले ६ विकेट लिए पनि टिमलाई जित दिलाउँन सकेनन् । १० ओभर बलिङ गरेका करणले ५२ रन खर्चिए । राशिद खान र ललित राजवंशीले एक–एक विकेट लिए ।
जितसँगै आर्मीले उपाधिका लागि एपीएफ क्लबसँगको भेट पक्का गरेको छ । एपीएफले यसअघि बिहीबार मधेस प्रदेशलाई सात विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । फाइनल खेल शनिबार हुनेछ ।
यसअघि कप्तान दीपेन्द्र सिंह ऐरीको शतक बनाएपछि टस हारेर ब्याटिङमा निम्त्याइएको पुलिसले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर ३०४ रनको योगफल खडा गरेको थियो ।
पुलिसका दीपेन्द्रले १२५ बलमा ११ चौका र पाँच छक्कासहित १४० रन बनाएका थिए । आरिफ शेखले पनि १०९ बलमा आठ चौका र दुई छक्कासहित ९१ रन बनाए । यसबाहेक, ओपनर कुशल भुर्तेलले ३१, सुनिल धमलाले १३ र अमित श्रेष्ठले १० रन जोडे ।आर्मीका विक्रम सोबले तीन विकेट विकेट लिँदा सुशन भारीले एक विकेट लिएका थिए ।