काठमाडौँ, २२ फागुन । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको समय सारिएको छ। आज (आइतबार) बिहान ११ बजेका लागि तय गरिएको बैठक दिउँसो २ बजेलाई सारिएको माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए। बैठक बस्ने स्थान भने पहिले तोकिएको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्ड नै रहेको उनले बताए।
अमेरिकी अनुदान सहायता एमसीसी सम्झौता संसदबाट अनुमोदनमा पार्टी संलग्न भएपछि माओवादी केन्द्रभित्र मतभेद चर्किएको छ।
यसअघि शुक्रबार राष्ट्रिय सभा गृहमा बसेको केन्द्रीय समितिको बैठकमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एमसीसी पास गरेर पार्टीले गलत काम गरेको बताएका छन्। आज पनि यस विषयमा छलफल गर्ने तयारी छ।
साथै केन्द्रीय सदस्य मनोनयन र पदाधिकारी चयन पनि बैठकको एजेन्डा रहेको माओवादी केन्द्रका पूर्वस्थायी कमिटीका सदस्य गणेश शाहले जानकारी दिए। यिनै विषयमा पहिले एक खालको सहमति जुटाउन बैठक तीन घण्टा पर सारिएको बुझिएको छ।
‘पहिले केन्द्रीय समितिलाई पूर्णता दिने कुरा छ, त्यसपछि सहमति भयो भने पदाधिकारी चयन होला’, पूर्वस्थायी कमिटी सदस्य साहले आइतबार बिहान भने, ‘तर आजै टुङ्गिएला भन्नेमा चाहिँ म आशावादी छैन।’
गत पुस १८ गते भएको आठौं महाधिवेशनले माओवादी केन्द्रको २४७ जना केन्द्रीय सदस्य चयन गरेको थियो। भोलिपल्ट १९ गतेको केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष चयन गरेको थियो। तर अन्य पदाधिकारी अहिलेसम्म चयन गर्न सकेको छैन।
आजको बैठकबाट केन्द्रीय समितिलाई पनि पूर्णता दिने तयारी माओवादी केन्द्रले गरेको हो। २९९ सदस्यीय केन्द्रीय समितिमा महाधिवेशनले २४७ जना मात्र चयन गरेको छ। अब २९९ को १० प्रतिशत हेडक्वार्टरले मनोनयन गर्ने व्यवस्था छ। त्यस्तै २९९ को १५ प्रतिशत केन्द्रीय समितिले मनोनयन गर्नेछ।
पदाधिकारीमा एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष चयन गर्न बाँकी छ।