धनगढी, ३ फागुन/नेपाली काँग्रेस कार्यबहाक सभापति प्रकाश बमले काँग्रेस कैलालीको सभापतिमा उम्मेदबारी घोषण गरेका छन् । मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेल गर्दै आफु सभापतिमा निर्वाचित भएर जिल्लामा काँग्रेसको संगठनलाई बलियो बनाउन र आगामी निर्वाचनमा कैलालीमा काँग्रेसका उम्मेदवारलाई निर्वाचित गराउने लक्ष्य रहेको बताए । ‘प्रकाश बमले उम्मेदवारी दिँदैन । नारायण भट्टलाई समर्थन गरिसक्यो भन्ने हल्ला चलाइएको छ ।’ उनले भने, ‘मलाई सभापतिमा रोक्न चलाइएको यो गलत हल्ला हो । अन्तिम समयसम्म मेरो उम्मेदवारी कायम रहन्छ । प्रतिनिधिहरुलाई भ्रममा नपर्न आग्रह गर्छु ।’
सभापतिमा रोक्नसक्ने संभावना नदेखेपछि केही उम्मेदवार र नेताहरुले यो हल्ला फैलाएको उनको आरोप छ । बाहिर चलाइएको हल्ला गतल भएकोले त्यसलाई आफूले खण्डन गरेको बमले बताए । सभापतिका उम्मेदवार बमले सबै क्षेत्रलाई मिलाएर आफूले एक/दुई दिनभित्रै टीम घोषणा गर्ने जानकारी दिए ।
पार्टीको केन्द्रले अहिलेसम्म कुनै उम्मेदवारलाई समर्थन नगरेको पनि उनले प्रष्ट पारे । प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा र नेतृ आरजु राणाले कुनै उम्मेदवारलाई समर्थन गरिसकेको भन्ने हल्ला पनि झुठो भएको बमको भनाइ छ । अहिले सभापतिमा आकांक्षा देखाए सबै उम्मेदवार देउवा पक्षकै रहेका र केन्द्रले अहिलेसम्म कसैलाई पनि उम्मेदवार नतोकेको उनले बताए ।
पार्टी सभापति देउवा र आरजुको नाम जोडेर प्रचार गर्दै नेतृत्वलाई विवादमा ल्याउने काम गर्न खोजिएको उनले बताए । ६० प्रतिशतभन्दा बढी प्रतिनिधि आफ्नो पक्षमा रहेकाले आफू सभापतिमा निर्वाचित हुने दावी पनि उनले गरे । जिल्लामा सहमतिका आधारमा नेतृत्व चयन हुने संभावना पनि कम रहेको बमको भनाइ छ ।
सभापतिका उम्मेदवार बमले २०३६ सालमा नेपाल विद्यार्थी संघमा आवद्ध भएर काँग्रेसको राजनीति सुरु गरेका थिए । उनी २०४२ सालमा काँग्रेसबाट तत्कालीन जिल्ला पञ्चायत सदस्य तथा प्रजातन्त्र वहालीपछि भएको स्थानीय तहको पहिलो निर्वाचनमा जिल्ला विकास समिति सदस्यमा निर्वाचित भएका थिए । सदस्य, सचिव र उपसभापति भएर उनले १५ वर्ष काँग्रेस जिल्ला कार्यसमितिमा काम गरेका छन् ।
काँग्रेस महाधिवेशन सम्पन्न भइसके पनि कैलालीलगायत केही जिल्लाको अधिवेशन हुन सकेको छैन । आगामी फागुन १३ गते अधिवेशनको मिति तय गरिएको छ । पार्टी सभापति देउवा पक्षको बर्चश्व रहेको कैलालीमा देउवा पक्षकै उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । सभापतिमा बम, नारायणदत्त भट्ट, भीम बडुवाल, खेम चौधरीलगायतले उम्मेदवारी घोषणा गरेका छन् ।