काठमाडौँ, ३ फाल्गुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले मुम्बईमा रहेका नेपालीसँग अश्लील गालीगलोज गरिरहेको अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।
आफूलाई सामाजिक सञ्जालमा चित्त दुख्ने गरी कमेन्ट गरेको भन्दै आलेले अश्लील गाली गर्दै अपहरण गरी मार्ने धम्की दिएको अडियो भाइरल भएको हो।
यो अडियोमा भारतको मुम्बईमा बस्दै आएका अछामका युवा युवक जगत ओलीलाई बसेकै ठाउँबाट उठाएर मारिदिने धम्की दिएका छन्।
उताबाट एमालेनिकट ती युवकले पनि मन्त्री आलेलाई गालीबाटै जवाफ फर्काएका छन्। अश्लील गालीसहितको संवाद सामाजिक सञ्जालमा भाइरल भएपछि आलेमाथि राजीनामा दबाब बढेको छ।
यता आलेको सचिवालयले भने एमालेका कार्यकर्ता वलीले निरन्तर बल्याकमेल गर्न थालेपछि मुख छाड्न बाध्य भएको दाबी गरेको छ। उक्त संवाद एक वर्षअघि भएको दाबी आलेका स्वकीय सचिव हेमन्त रेग्मीले गरेका छन्। उनका अनुसार वलीले आलेसँग ५० लाख रुपैयाँ मागेका थिए।
अन्तिममा २० लाख रुपैयाँ नदिए उक्त अडियो संवाद सार्वजनिक गरिदिने धम्की वलीले दिएको रेग्मीले जिकिर गरेका छन्।मन्त्री आलेको लोकप्रियता बढेपछि एमालेका कार्यकर्ताले षडयन्त्रपूर्वक उत्तेजित पारेर भिडिओ रेकर्ड गरेको दाबी रेग्मीको छ। आलेले अब आफू कानुनी उपचारमा जाने दाबी गरेका छन्।
