बाजुरा २८ माघ/नेपाल कम्यूनिष्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं प्रदेश सरकारका मन्त्री दीर्घ सोडारीले माओवादी र समाजवादी बीचको एकता र सहकार्य कायम रहने बताएका छन् । चुनावी तालमेल देखि सत्ता सञ्चालनमा माओवादी र समाजवादी बीच सहकार्य जारीरहेपनि काँग्रेससँग कुनै प्रकारको सहकार्य नहुने बताएका छन् ।
नेपाल पत्रकार महासंघ बाजुरा शाखाले मार्तडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सोडारीले केन्द्रको गठबन्धनले सुदूरपश्चिममा कुनै असर नपर्ने दाबी गरेका छन् । काँग्रेस प्रदेश सरकारको प्रतिपक्ष हो, त्यही अनुसारको व्यवाहार हुन्छ, काँग्रेससँग सत्ता सञ्चालन र चुनाव केहीमा पनि सहकार्य हुदैन्, मन्त्री सोडारीले भने–‘ पार्टी केन्द्रको निर्णय मान्नु पर्छ, तर प्रदेशको गठजोडलाई नै आधार मानेर तालमेल र सहकार्य गरिने हो, हामी सुदूरपश्चिम प्रदेशमा पनि केन्द्रको गठबन्धनकै निर्णय र सहमति मान्नु पर्छ भन्ने बाध्यता हुदैन्।’
एकीकृत समाजवादी प्रदेश सरकारको पहिलो पार्टी हो, माओवादी र समाजवादी मिल्दा हामी सबै जिल्लामा प्रष्ट बहुमत ल्याउने स्थितिमा छौं, काँग्रेससँग सहकार्य जरुरी नै छैन्, सोराडीले थप्नु भयो । उनले बाजुरामा समाजवादी कमजोर जस्तो देखिएपनि अन्य जिल्लामा पहिलो स्थानमा रहेको दाबी गरेका छन् ।
प्रदेश सरकार परिर्वतन हुने संभावना तत्काल नरहेको बताएका सोडारीले मुख्य मन्त्री हुने सपना पुरा नहुने भयो त, भन्ने पत्रकारको प्रश्नमा राजनीति सरल रेखामा नचल्ने भएकोले यस्मा धेरै बोल्ने पक्षमा नरहेको बताएका छन् । एकीकृत समाजवादी पार्टी गाउँ तहमा संगठन निर्माणमा सक्रिय रहेको र जनताको समर्थन र विश्वास पनि समाजवादी प्रति देखिएको दाबी गरेका छन् ।