धनगढी २७ माघ/ पढाई छाडेर भारत गएका डडेल्धुराका एक जना बालकलाई बागेश्वी असल शासन क्लब (बास) नेपालले उद्धार गरेको छ । डडेल्धुराको पर्शुराम नगरपालिका ८ घर भएका १३ बर्षीया दिनेश धामीको गौरीफन्टा सिमा नाकाबाट उद्धार गरेको हो ।
६ कक्षामै बिद्यालय छोडेर एक बर्ष अगाडी भारत गएका थिए । पढाई छाडेर बुबा संगै रोजगारीको लागि भारत गएका उनि शुक्रबार गौरीफन्टा नाका हुँदै नेपाल आएका थिए । आर्थिक अभावले विद्यालय छाडेका दिनेश पुनः विद्यालय जाने सोच बनाएर नेपाल फर्किएका हुन । भारतबाट आफन्तसंग नेपाल आएका उनि सिमामा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई होम आइसोलेशन सम्म पठाउन र लुगाकपडाको लागि बासले आर्थिक सहयोग गरेको हो ।
सीमा नाकामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखाएपछि उनी समस्यामा परेका थिए । आर्थिक अभावले घर जान नसक्ने अवस्थामा रहेको बारे सीमा स्वास्थ्य चौकीले जानकारी गराएपछि धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा गाडी रिजर्भ गरेर होम आइसोलेसनका लागि घर सम्म जाने व्यवस्था गरिएको बासका स्वयमसेवक हरिकला जैशीले बताइन् । उनलाई घर पठाएसँगै आइसोलेसनमा बस्न सम्बन्धित स्थानीय पालिकासँग समन्वय गरेको उनले बताइन् ।
बासले युनिसेफ नेपालको सहयोगमा कर्णाली र सुदुरपश्चिम प्रदेशमा बाल संरक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही अन्तरगत बालवालिका सहयोग कार्यक्रमबाट उनलाई सहयोग गरि उद्धार गरिएको हो ।