काठमाडौँ, २३ माघ । आइतबार मौसम सुधार भएर देशभरजसो घाम लाग्ने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्। बिहान मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् निराजन सापकोटाले दिएको जानकारीअनुसार आज देशभर कतै वर्षा–हिमपातको सम्भावना देखिएको छैन।
‘आज दिउँसो घाम लाग्छ’, उनले भने, ‘भोलि आंशिक बदली र उच्च हिमाली तथा पहाडी भेगमा कतै कतै हिमपात हुने देखिएको छ।’मौसमविद् सापकोटाका अनुसार काठमाडौं उपत्यकामा भने आज पनि आंशिक बदलीको सम्भावना देखिएको छ।
‘तर आंशिक बदली भनेको थोरै बादल देखिने हो’, उनले भने, ‘दिनभर घाम नलागे पनि कहिले घाम कहिले बादल हुने देखिन्छ।’उनका अनुसार आज बिहानको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस छ। केही दिनयता देशभर हिमपात र वर्षा भइरहेको थियो। मौसमविद्का अनुसार शनिबार रातिदेखि मौसम सुधार हुँदै गएको हो।