डोटी (बडिकेदार), १९ माघ/डोटीको बडिकेदार २ गतपसेराकी काखे बालक बोकेकी गतपसेराकी पद्मा बिकले ७ बच्चा घरमै जन्माएको बताइन् । ‘६ छोरा एक छोरी सबै घरमै जन्माए’ उनले भनिन्, ‘विकट ठाउँ भइहाल्यौं, गाडि मोटर चल्ने भए अस्पताल लैजान्थ्यौं ।’ डोटी जिल्ला बडिकेदार गाउपालिकाको वडा नम्बर २को दुर्गम वडाका सत प्रतिशत महिलाले घरमै बच्चा जन्माउने गरेका छन् । त्यहा बर्थिङ्ग सेन्टर नहुदा मलिाहरुले यस्तै समस्या भोग्ने गरेका छन् ।
नेपाल सरकारले सुरक्षित मातृत्वको अभियानमा कारोडौ खर्चेर पनि डोटी जिल्ला बडिकेदार गाउपालिकाको वडा नम्बर २का महिलाको समस्या ज्युका त्यु छन् । गाउँपालिकाकै दुर्गम वडा मानिने वडा नम्बर २ मा वर्थिङ सेन्टर नहुँदा यहाँका महिलाले जोखिम मोलेर घरमै बच्चा जन्माउँदै आएको बताएका छन् । वडा नम्बर २ गतपसेराकी दीपा बिकले घरमै शिशु जन्म दिएको बताइन् । ‘घरमै बच्चा जन्मियो । विकट ठाउँ त्यही त हो । मुस्कुराउँदै’ दुधे बालक बोकेकी दीपा बिकले भनिन्, ‘वर्थिङ सेन्टर छैन । बाहिर लैजाउ भने गाडि पनि चल्दैन ।’ सुविधा भइदिए अस्पतालमा जन्माइन्थ्यौं उनले भनिन्, ‘सुविधा केही नाई ! लगिदिने मान्छे पनि कोही नाई ! के गर्ने ? घरमै बच्चा जन्माउनु प¥यौं ।’
सायलकी सीता बिकले तीन बच्चा घरमै जन्माएको बताइन् । ‘सबै बच्चा घरमै जन्माए’ उनले भनिन्, ‘के गर्नु हजुर हामी विकट ठाउँको अस्पताल छैन ।’
सडेखानकी खगिसरा लामिछानेले पनि सबै बच्चा घरमै जन्माएको बताइन् । ‘चार बच्चा छन् सबै घरमै जन्माए’ खगिसराले भनिन्, ‘अस्पताल भए पो लग्नु । कोही घरमा त कोही जंगलमा जन्मिए ।’ ‘के गर्ने हजुर सुविधा छैन’ उनले भनिन्, ‘अहिले कपडामा जन्माउछ भन्छन् । हामीले पाखापखेरामा जन्मायौं । कोही घाँस काट्दै त कोही दाउरा काट्दै बोकेर घर ल्यायौं ।’ उनले भनिन्, ‘के गर्ने त जस्तो छ त्यस्तै ग¥यौं सरकारले नहेरेपछि ।’
सडेखानकी मनिषादेवी लामिछानेले तीन घरमा र एक कैलालीको किम्तोलास्थित वर्थिङ सेन्टर पुगेर बच्चा जन्माइन् । ‘तीन बच्चा घरमै सहजै जन्मिए’ मनिषादेवीले भनिन्, ‘बच्चा जाली भित्र भएकाले ५ घण्टा स्टेचरमा बोकेर किम्तोला वर्थिङ सेन्टरमा बच्चा जन्माए ।’ अस्पताल नहुँदा समस्या झेल्दै गरेको उनले बताइन । किम्तोला कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ मा पर्दछ ।सडेखान सामुदायिक स्वास्थ्य ईकाइका प्रमुख निर्मल साउँदले वडा नम्बर २ मा वर्थिङ सेन्टर नहुँदा महिलाले घरमै बच्चा जन्माउने गरेको बताए । गर्भवति महिलाले समस्याले लिएर स्वास्थ्य केन्द्रमा पुग्ने गरेपनि वर्थिङ सेन्टर नहुँदा बाहिर लग्न सुझाव दिने गरेको प्रमुख निर्मल साउँदले बताए । ‘वर्थिङ सेन्टर नहुँदा स्वास्थ्य संस्थामा सुत्केरी भएको छैन’ निर्मल साउँदले भने, ‘सेवाग्राहीको संख्या धेरै छ । उनीहरु घरमै बच्चा जन्माउछन् ।’ ‘समस्या ठूलो भए गर्भवति महिलालाई स्टेचरमा बोकेर । कहिले काही बस भेटिए बसमा राखेर त कहिले ट्रेक्टरमा राखेर लगिने गरेको देखिन्छ’ उनले भने, ‘गर्भवती महिलालाई समस्या धेरै छ ।’
बडिकेदार गाउँपालिकाकी उपाध्यक्ष ईन्द्रा बोहरा भाटले पनि वर्थिङ सेन्टर नहुँदा महिलाले घरमै सुत्केरी हुने गरेको स्वीकार गरिन् । ’वर्थिङ सेन्टर नहुँदा घरमै सुत्केरी हुने अवश्य देखिन्छ’ उपाध्यक्ष ईन्द्रा बोहरा भाटले भनिन्, ‘स्थापना भएको वर्थिङ सेन्टरमा पनि सत प्रतिशत महिला सुत्केरी हुन आउँदैनन् ।’ उपाध्यक्ष ईन्द्रा बोहरा भाटले भौगोलिक विकटता र प्रयास गर्दा पनि संरचना अभावमा वर्थिङ सेन्टर स्थापना गर्न नसकेको बताइन् । ‘२/४ वर्ष पहिले भवन निर्माण गथ्यौं नम्बरी जग्गाको अभाव हुँदा सकिएन’ उनले भनिन्, ‘अरु वडामा छन् । २ नम्बर वडामा पनि बनाउँने प्रयास गरिरहेका छौ ।’