कञ्चनपुर, ५ माघ । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। गत वैशाख महिनामा नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम नेपाली सेनाले निर्माण गर्ने भनिएको सालधारी क्षेत्रमा १ हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माण कार्य अन्तिम चरणमा पुगेको हो।
नेपाली सेनामार्फत् होल्डिङ सेन्टर निर्माणको ठेक्का पाएको हनुमान कन्स्ट्रक्सन प्रालिले सेन्टरको निमार्णको कार्य अन्तिम चरणमा पुगेको जनाएको छ। कम्पनीका अनुसार हाल बेड फिटिङको कार्य चलिरहेको छ। कम्पनीले विद्युत होल्डिङ सेन्टरमा विद्युत आपूर्तिको लागि ट्रान्समिटर राख्ने काम पनि सम्पन्न गरेको छ। होल्डिङ सेन्टरको नब्बे प्रतिशत भन्दा बढी प्रगती भएको छ।
सेनाको श्री नम्बर २५ बाहिरी अड्डा भगतपुर ब्यारेकले होल्डिङ सेन्टरको निमार्णको कार्य हेरिरहेको छ। बाहिनीले निर्माण कार्यको अनुगमन तथा सुपरिवेक्षण गर्ने गरेको छ। निमार्णको कार्य ढिलासुस्ती अथवा निर्माणको कुरामा सेनाले विशेष ध्यान दिएर निमार्ण कार्यलाई सहजता गर्ने गरेको बाहिनीले जनाएको छ। २९ करोडमा होल्डिङ सेन्टरको ठेक्का पाएको निर्माण कम्पनीले करिब साढे पन्ध्र करोड रुपैयाँ भुक्तानी लिएको अवस्था छ।
तीन बिगाहा क्षेत्रफलमा निर्माण गरिएको स्थायी होल्डिङ सेन्टरको बाइस वटा अलग अलग ब्लग छन्। होल्डिङ सेन्टर निर्माणपछि जिल्लामा बढिरहेको कोरोना संक्रमणलाई नियन्त्रण गर्न केही सहज तथा सहयोग पुग्ने विश्वास लिइएको छ।