सरस्वती साफरी
धनगढी, ३ माघ । धनगढी उपमहानगरपालिकामा रहेको फाहोर उठाउने गाडी टोलटोलमा नपुग्दा धनगढी प्रदुषित बनाएको छ । २०३६ सालदेखि फोहार उठाउन सुरु गरेको भए पनि फोहोर व्यवस्थापन व्यवस्थित नहुँदा धनगढी दुर्गन्धित बनेको हो ।
धनगढीको मेनरोडमा फोहोर उठाउन गाडी जाने भए पनि धनगढीका टोलहरु क्याम्पसरोड, शिवनगर, त्रिबेणीटोल, विशालनगरलगायत जाई क्षेत्रका विभिन्न मुख्य स्थानमा पनि गाडी नपुग्दा दुर्गन्धित बनेको धनगढीबासी बताउँछन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १ केदारटोलका अध्यक्ष पूर्णबहादुर रोकायाले मेनरोडमा मात्र सिठी बजाउँदै जाने तर, भित्र कहिल्यै पनि नआउने गरेको बताए । टोलमा हप्तामा नभएर महिनामा पनि नआउने गरेको उनको भनाई छ ।
धनगढी तारानगरकी खेमा नेगीले फोहोर व्यवस्थापनका लागि धनगढी उपमहानगरपालिकाले गाडी राखे पनि आफ्नो टोलमा कहिल्यै नआउने गरेको बताइन् । उनले टोलभरीको फोहोरहरु ढलमा मिसिदा ढल निकास नभई ढुबानमा पर्ने पनि उनी बताउँछिन् ।
धनगढी उपमहानगरपालिकाका फोहोर मैला व्यवस्थापन समितिका हरिप्रसाद भट्टले फोहोरमैला व्यवस्थापनका लागि हरेक वडामा रुट प्रक्रिया तोकेको बताए । “शिवनगरमा हप्ताको २ दिन मंगलबार र सोमबार जान गर्छ, उनले भने “अन्य वडामा भने मंगलबार फोहोर उठाउन गाडी जान्छ ।” उनले बिहान ४ बजेदेखि १० बजेसम्म र दिउसो २ बजेदेखि साझ ५ बजेसम फोहोर उठाउने गरेको बताए ।
धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले ठाउँ तोकेको स्थानबाट फोहोर उठाउने गरेको बताए । धनगढीको फोहोर फाल्ने ठाउँ नभएर पनि फोहोर व्यवस्थापनमा चुनौति भएको छ, नगरप्रमुख वडले भने “ फोहोर व्यवस्थापन गर्न हामी लागि परेका छौँ ।’ फोहोर व्यवस्थापन गर्ने जिम्मा नगरपालिकाको मात्र नभएर हामी सबैको भएको भन्दै आफ्नो घरको फोहोर आफै व्यवस्थापन गर्न सके व्यवस्थापनमा अझ सहज हुने उनी बताउँछन् ।
धनगढीमा २०३६ सालदेखि फोहार उठाउन सुरु गरेको र चार ओटा फोहोर फाल्ने गाडीहरु रहेका छन् । धनगढीको फोहोर नदी, र खोलानालाले काटेको ठाउँमा फाल्ने गरेको नगरपालिकाले जनाएको छ ।