धनगढी, ३० पुस/कैलालीको त्रिनगर–भन्सार नाकामा मंगलबार भारतबाट घर फर्केका तीन जना कोरोना संक्रमण पुष्टि भएलगत्तै एकाएक हराएका छन् । नाकास्थित हेल्थ डेस्कका इन्चार्ज गणेश साउद भन्दै थिए, ‘आँखा सामुन्नेबाटै गायब भए, कस्तो छल्न जान्या, कसरी खोज्ने होला रु’ उनका अनुसार नाकामा एन्टिजेन परीक्षण गर्दा उनीहरूमा संक्रमण देखिएको थियो । अलग्गै बस्न लगाएको र आइसोलेसन पठाउन एम्बुलेन्सको प्रतीक्षा गर्ने बेलासम्म त्यहाँबाट भागिसकेको उनले बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालयले राखेको हेल्थ डेस्कमा भारतबाट फर्कने नेपालीको एन्टिजेन परीक्षणमा संक्रमित पाइए धनगढी उपमहानगरपालिकाले बेलीमा बनाएको आइसोलेसन केन्द्रमा पठाउने गरिएको छ । ‘पोजिटिभ देखिएकालाई छुट्याएर एक ठाउँमा राख्छौं । तर केही त आँखा छलेरै भाग्ने गरेका छन्,’ डेस्क इन्चार्ज साउदले भने ।सातायता भारतबाट फर्कने नेपालीको संख्या एक हजार हाराहारी छ । तीमध्ये दैनिक ६र७ सय जनाको एन्टिजेन परीक्षण हुँदै आएको छ । संक्रमण पुष्टि भएकामध्ये ३र४ जना भाग्ने गरेको साउदले बताए ।संक्रमितलाई सुरक्षित रूपमा आइसोलेसनमा राख्न नसकिए नाकामा परीक्षण गर्नुको कुनै अर्थ नहुने उनले बताए ।
भारतमा कोरोनाको तेस्रो लहर बढेकाले रोजगारी गुमेर घर फर्कने नेपालीको संख्या फेरि बढेको छ । जनशक्ति अभावले हेल्थ डेस्कमा सबैको परीक्षण गर्न नभ्याइएको साउद स्विकार्छन् । ‘धेरै समय पर्खनुपर्दा पनि कोही परीक्षण नगरेरै हिँडिदिन्छन्,’ उनले भने, ‘१० देखि १५ प्रतिशत परीक्षण नगरी फुत्किने गरेका छन् ।’ नाकामा खटिएका प्रहरी र सशस्त्रको जनशक्ति पनि कम भएको उनले बताए ।एक सय क्षमताको धनगढीस्थित आइसोलेसन केन्द्रमा बिहीबारसम्म ८० संक्रमित छन् । केन्द्र भरिन थालेपछि संक्रमितलाई राख्न समस्या भएको कैलाली जनस्वास्थ्य कार्यालय प्रमुख ललित धामीले बताए । अहिले पहाडी जिल्लाबाहेक कैलाली र कञ्चनपुरका संक्रमितलाई सम्बन्धित स्थानीय तहको जिम्मा लगाउन थालिएको छ । आइसोलेसनको व्यवस्थापन जनस्वास्थ्य कार्यालयले नै गरिरहेको छ । ‘बिहीबार एकै दिन १ सय १४ जना पोजिटिभ देखिएको अवस्थामा आइसोलेसनको थप व्यवस्थापन गर्नुपर्ने देखिन्छ,’ उनले भने, ‘अहिले सम्बन्धित वडाध्यक्षको सिफारिसमा पठाएका छौं ।’ हाल विभिन्न नाकामा खटिएका १८ स्वास्थ्यकर्मीलाई भ्याइनभ्याइ भएको उनले बताए ।
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीले नाकामा सुरक्षाकर्मी अपर्याप्त भएको जानकारी आएको बताए । कैलाली त्रिनगर नाकाको सुरक्षा व्यवस्था कञ्चनपुरको प्रहरी प्रशासनले हेर्ने भएकाले दुवै जिल्लाबीच समन्वय गरेर थप सुरक्षाकर्मी परिचालन गर्नेतर्फ पहल गरिने उनको भनाइ छ । नाकामा खटिएका सशस्त्र प्रहरीका नायब निरीक्षक प्रेम खत्रीले पारिबाट आएका अटोरिक्सामा सिधै जाने गरेकाले पनि अलमल भइरहेको बताए । भारतबाट फर्किनेमध्ये १० प्रतिशतमा संक्रमण देखिन थालेको हो । बिहीबार गड्डाचौकी नाकाबाट भित्रिएका १ हजार २७६ को एन्टिजेन परीक्षण गर्दा १ सय ६ जनामा संक्रमण पुष्टि भएको छ । बुधबार भित्रिएका १ हजार ४६ मध्ये १ सय ६ जनामा संक्रमण पुष्टि भएको गड्डाचौकीस्थित हेल्थ डेस्कका इन्चार्ज तर्कराज भट्टले बताए । पछिल्लो एक सातामा मात्रै गड्डाचौकी नाकाबाट भित्रिएकामध्ये ४ सयभन्दा बढीमा संक्रमण देखिएको छ । अहिले १५ जना स्वास्थ्यकर्मी छन्, उनीहरूले बिहान ६ देखि बेलुकी ८ बजेसम्म दुई सिफ्टमा परीक्षण गरिरहेका छन् ।