धनगढी, २९ पुस । सुदूरपश्चिम प्रदेशमा आज तीन सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार ६३ जनाको पीसीआरमार्फत र दुई सय ५५ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।
आज दुई हजार २०५ जनाको परीक्षण गरिएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएका तीन सय १८ जनामध्ये दुई सय २७ जना आजै भारतबाट आएका नागरिक हुन्।
त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका १११, गड्डाचौकी नाका भएर स्वदेश फर्केका १०५, पुलघाटबाट फर्केका ५ जना र जुलाघाटबाट फर्केका ६ जनामा संक्रमण पुष्टि भएको हो। सुदूरपश्चिमका नाका भएर आजदुइृ हजार ७० नेपाली स्वदेश फर्केका छन्।
भारतबाट फर्किनेहरुको नाकामै एन्टिजेन परीक्षण हुने गरेको छ। सो क्रममा लक्षणसहित संक्रमण पुष्टि भए धनगढीको आइसोलेसनमा राख्ने गरिएको छ। लक्षण नभएर पनि संक्रमण पुष्टि भएका र एन्टिजेन परीक्षण नेगेटिभ आएका नागरिकलाई भने सिधै घर पठाउने गरिएको छ।