प्रतीक्षा पल्लवी
सुखड, कैलाली/बर्सेनि पुसको अन्तिम दिन एउटा विशेष दिन हुने गर्छ सुदूरपश्चिमेलीका लागि । अझ सुदूरपश्चिममा बसोबास गर्ने पहाडिया मात्रै नभई थारू समुदायको त झन पुस मसान्तपछिको माघे संक्रान्ति नयाँ वर्ष नै हो । यो दिन सुदूरपश्चिममा हर्षोल्लासका साथ माघे संक्रान्ति मनाइन्छ । सुदूरपश्चिममा माघे संक्रान्तिलाई केही ठाउँमा नरहरी, चेली त्यार पनि भन्ने गरिन्छ । माघे संक्रान्ति मनाउनु अघिल्लो दिन अर्थात पुस मसान्तका दिन खानपिनका साथै रमाइलो गरेर रातभर जाग्राम बस्ने गरिन्छ ।
म पात्रले बुझ्ने भएदेखि माघे संक्रान्तिलाई यसरी बुझेकी छु– जुन हाम्रो पू्र्खादेखि चलिआएको चलन रहेछ, आज त्यही चलन हामी २१ औँ शताब्दीमा पनि आफ्नो संस्कारलाई जगाइ राखेका छौँ । हुन त विभिन्न भेषभूषाले भरिपूर्ण देश हो नेपाल । जहाँ चार वर्ण छत्तीस जातको एउटा फूलबारीमा ढकमक्क फुलिरहेका छौँ । बास्ना एउटै छरिरहेका छौँ, फरक यत्ति छ कुन फूलको कस्तो सुगम्ध छ ।यत्ती भन्नुको तात्पर्य कसैको संस्कार कस्तो छ, कसैको कस्तो, जात जाति अनुसार, धर्मअनुसार फरक फरक छ । नेपालमा अहिले विभिन्न संस्कृति र संस्कार भित्रिएका छन् जुन हाम्रा होइनन् । विदेशीले मनाउने भ्यालेनटाइन्स डे, अप्रिल फुल, अंग्रेजी नयाँ वर्ष लगायतका थुप्रै संस्कृति देखासिखिको आधारमा भित्रिरहेका छन् । आफ्ना संस्कृतिहरु बिलिन बनाइरहेको पाइन्छ ।
अरुको कुरा नगरी पुर्खौदेखि चली आएको चलनको बारेमा लेख्दैछु । माघे संक्रान्ति अर्थात् माघे तिहार थाहा छैन हाम्रा अग्रज पू्र्खाहरुले कसरी मनाए ? तर, यति थाहा छ बुवा आमाले सुनाए अनुसार हामीले पनि त्यही संस्कार अझैसम्म जगाइ राखेका छाँै । माघे तिहार हाम्रो यस्तो तिहार हो जसले वर्ष भरी छुटिएकी दिदी बहिनीलाई मिलाउने गर्छ । मायाको एउटै सुत्रमा बाँध्ने गर्छ । हामीले एकदमै रमाइलोका साथ यो पर्वलाई मनाउने गरेका छौ ।यस चाडको एउटा छुट्टै पहिचान छ । पुस महिना सुरु भएको दिन गाउँका दिदी बहिनी मिलेर मासको फाँडो, बटुकलगायतका सुदूरपश्चिमेली परिकार खाने गरिन्छ । घरदेखि टाढा जंगल किनारमा वनभोज खाइ त्यही दिनदेखि सबै मिलेर काठका मुढा खोजेर थुपार्ने गरिन्छ । पुस महिनाको सुरुको दिन मुढा खोजेर खोला, नाउला, मुल तथा पानी तलाउ नजिक थुपारिन्छ र पुस १५ का दिन त्यही प्रक्रिया दोहरिन्छ । पुस १छ गतेका दिन गाउँका दिदी बहिनी दाजुभाई जम्मा भई जंगलमा गई कन्दमुल खोजेर ल्याई पुसे १५ को रातभरी रमाइलो गरिन्छ ।
पुनः पुस मसान्तमा त्यही प्रक्रिया दोहोरिन्छ । पुस मसान्तका दिन दिउँसो जंगलमा गई मालुको फल टाँटा, तरुल खोजिन्छ गाउँभरिको कुनै एक जनाको घरमा बसेर रातिको समयमा आगो ताप्दै गाउँखाने कथा, दन्त्य कथाहरु सुन्दै सुनाउँदै डेउडा खेल्दै रमाइलो गरिन्छ । यस दिन बिवाहित दिदी बहिनी पनि माइती घरमा आउँछन् । रोजगारीका लागि परदेशीएकाहरु पनि माघे तिहार भन्दै स्वदेश फर्कन्छन् । यो बेला गाउँघरतिरको माहोल रमाइलै भइदिन्छ ।
जब बिहान ३, ४ बजेतिर रमाइलो गर्दा गर्दै तलाउ, नदी खोला, मुल तथा नुहाउन मिल्ने पोखरी नजिक जम्मा गरिएको मुढामा आगो सल्काउने गरिन्छ । त्यही बेला तिलको झार टिपेर तिलको आगो ताप्दै शरीर तताउने गरिन्छ । त्यसपछि एकापट्टि केटी र एकापट्टि केटा मिलेर आगो वरिपरि घुमेर चामल फाल्ने चलन छ । ता कि मेरो आगो जितोस भनेर यसो गरिन्छ । यसबेला केटीले आगोमा फालेको चामलको आगोको लप्को अग्लो भएमा केटालाई नराम्रो हुने भन्ने विश्वास गरिन्छ । त्यसैले हाम्रा दाजुभाइलाई केही नहोस भनेर केटीहरु हारिदिन्छन् । यही बेला केटाकेटी मिलेर आ–आफ्नो पारामा रमाउँदै नाचगान गर्छन् ।
यसपछि आगो ताप्दै नजिकैको खोला तथा तलाउमा नुहाएर पुनः आगो ताप्ने गरिन्छ । यही बेला वर्षभरी कहीँ कतै जानी नजानी कसैको मन दुखाएको, गाली गरेको जस्ता पाप गरेको भए पाप पखालिन्छ भनेर चिसो हातले रातो भएको कोइला आगो समतेर हातमा खेलाइ खेलाइ नदी तथा तलाउमा फाल्दै ‘काले कात्ति’लाई खुसी बनाउने चलन रही आएको छ । घरमा आमा भाउजूहरुले सेल रोटी बनाउँछन् । यसै दिनबाट नजिक भएका दिदी बहिनी फुपूहरुलाई तिहार भन्दै सेल रोटी तथा मीठा मीठा परिकार दिने चलन अझै हामीले छोडेका छैनौ । किन कि मीठो मसिनो जे जस्तो भए पनि माइतीले तिहार दिएपछि छोरी चेली खुसी हुन्छिन् एउटा मायाको बन्धन अझै प्रगाढ हुन्छ । माघे संक्रान्तिपछि पनि माइती आएकी छोरी चेलीहरुको स्वतन्त्रताको पर्वका रुपमा अर्को पर्व आउँछ ।
त्यो हो उत्तरायणी । अर्थात् माघ ३ गतेपछि सूर्य दक्षिणायनपछि उत्तरायण हुने गर्छन् । दक्षिणतर्फबाट सूर्य उत्तरतर्फ सर्दै गर्दा यहाँ गर्मीको मौसम सुरु हुन्छ । माघ ३ गतेका दिन सुदूरका पहाडी समुदायका महिलाहरू स्वतन्त्रताको पर्वका रुपमा भन्दै समूह बनाएर नजिकैको जंगलमा गई वनभोज खाने गर्छन् । सँगै दिनभर छोरी चेलीहरु बेहुला बेहुली बनाएर रमाइलो गर्छन् । यति मात्रै नभई दिनभर डेउडा खेल्ने र रमाइलो गर्ने गरिन्छ । यो वर्षको माघे संक्रान्ति हामी यसै गरि रमाउने तयारीमा छौँ सधैको वर्षझैँ र जोगाउने छौँ संस्कृतिलाई । अन्तमा, माघे संक्रान्ति तथा महिला स्वतन्त्रताको पर्वका रुपमा लिइएको उत्तरायणीको सुदूरपश्चिमेलीलाई हार्दिक शुभकामना…!