काठमाडौं २९ पुस/नेपालमा पश्चिमी वायू तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान जारी बुलेटिनअनुसार देशका अधिकांश स्थानमा बदली रही हल्का वर्षा र हिमपात हुनेछ।
यस प्रणालीको प्रभाव अझै केही दिन कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीले बताइन्। हाल प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहेको छ। देशका अधिकांश भू(भागमा सामान्य बदली रहेको छ । प्रदेश १ का एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ।विभागले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरेको छ।
तीन दिनको मौसम पूर्वानुमान
बिहीबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। राती देशभर आंशिक बदली रहने छ। शुक्रबार दिउँसो प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहने छ। राती सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश १ मा सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहने छ। प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
शनिबार प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने छ। प्रदेश १ र बागमती प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।