धनगढी २७ पुस/धनगढी उपमहानगरपालिका–५ हसनपुरको पिपल चौतारा–लभ्ली चौकहुँदै जाली गाउँ जोड्ने सडक निर्माण कार्य अस्तव्यस्त हुदा यात्रुलाई हैरानी भएको छ । विगत दुई महिनादेखि उक्त सडक हिलाम्य हुदा ओहोर दोहोर गर्नेले निकै हैरानी वेहोर्नु परेको छ ।धनगढी–६, जाली गाउँका अर्जुन महतो कार्यालयको कामले दैनिक बजार धाउँदा मोटरसाईकल र कपडा फोहोरले हैरान बनाएको बताउछन् ।
हिलाम्य सडक भएका कारण उनी मात्रै हैनन् त्यो सडक भएर हिँडडुल गर्ने जो कोही यात्रुलाई झुर यात्रा लाग्ने गर्छ । उनको बजार आउजाउ गर्ने एउटै बाटो छ । त्यो बाटो हिँड्नै नपरोस् भन्छन् उनी । तर, त्यही बाटो नहिँडी उनलाई सुखै छैन । उनको गाउँ जाने एउटै बाटो भनेको पिपल चौतारा–लभ्ली चौकहुँदै जाली गाउँ जोड्ने सडक हो ।
‘पिपल चौतारादेखि लभ्ली चौकसम्मको हिलाम्य सडकमा जानै नपरोस् भन्ने लाग्छ,’ महतोले भने,‘तर, के गर्नु त्यो बाटो नहिँडी सुखै छैन ।’
निर्वाचनताका जाली गाउँसम्मको सर्लक्क परेको कालोपत्रे सडक बनाउने भनेर घोषणा गरेका जनप्रतिनिधिले ठगेको उनी बताउँछन् । अहिले सो सडक खण्ड हिलाम्य भएकै कारण मोटर गाडीदेखि पैदल यात्रुसम्मलाई सास्ती भइरहेको उनले बताए । ‘सो सडक खण्डमा पैदल यात्रुको घुँडासम्मै हिलो छ्यापिन्छ,’ उनले भने,‘मोटर गाडी पनि ठाउँ ठाउँमा फस्ने तथा गाडी नै हिलोले लतपतिने गरेको छ ।’
जनप्रतिनिधी आएपछि सडक बन्ला भन्ने सोचे पनि अहिलेसम्म बन्न नसकेको उनी बताउँछन् । ‘हामीलाई त हिँडडुल गर्नै सकस भयो,’ अर्का स्थानीय धनगढी ६ जालीका करन चौधरीले भने, ‘विद्यालय जाने बालबालिकालाई त झनै गाह्रो भएको छ, हिलोले उनीहरुको विद्यालय पोशाक नै विग्रने गरेको छ ।’विद्यालय जाने बालबालिकाले लभ्ली चौकदेखि पिपल चौतारासम्म हातमा जुत्ता चप्पल बोकेर हिँडनु परेको उनी बताउँछन् । ‘हातमा जुत्ता चप्पल बोकेर हिलोमा हिँड्नु परेको छ,’ उनले भने,‘यो सडक चाँडै बनाइदिए हुन्थ्यो ।’ उनले भने,‘तपाईँहरू यो सडक बनाइदिन धनगढी उपमहानगरपालिकालाई घचघचाई दिनुस् ।’ यो सडक वर्षौदेखि जीर्ण रहेको बताउँदै उनले भने,‘समयमै बनाउने भनेको सडक झन निर्माण कम्पनीले खनिदिएर हिँड्ने बाटै राखिदिएन ।’
क्षेत्रीय सहरी विकास कार्यक्रम अन्तर्गत निर्माण भइरहेको पिपल चौतारा– लभ्ली चौक सम्मको १ दशमलव २ किलोमिटर सडक खण्ड कालिका कन्ट्रक्सन प्रालिले ठेक्कामा लिएको छ । ठेकेदार कम्पनीले समयमै निर्माण गरेर हिँडडुल सहज पार्नुपर्ने भए पनि अलपत्र छाडिदिँदा पैदल यात्रुलाई सकस भइरहेको उनी बताउँछन् ।
सडक निर्माणका लागि निर्माण कम्पनीले हात हाल्नै खोज्दा खानेपानी र सडकको समन्वय नमिल्दा ढिला भएको धनगढी उपमहानगरपालिकाका ईन्जिनियर दिजराज भट्टले बताए । उनले भने,‘सडक निर्माणमा ढिलाइ भएपछि मेयरसा’पले स्थानीयबीच समन्वयन गरेर काम अगाडि बढाउन आग्रह गर्नुभएको छ ।’ सो सडक चाँडै निर्माण हुने उनले बताए ।
खानेपानीको पुरानो पाइपलाइन भएको र त्यसको स्टमेट नभएका कारण काम गर्न ढिलाइ भएको कालिका कन्ट्रक्सनका साइड इन्चार्ज प्रितम मकाजुले बताए । उनले भने,‘खानेपानीको पाइप टुटफुट भएका कारण १ दशमलव २ किलोमिटर सडक खण्ड हिलाम्य भएको हो, त्यसमा हामी हिँडडुल गर्न मिल्ने गरी ग्राभेल गर्ने छौँ ।’ केही दिन अघि ग्राभेल गरिए पनि त्यसले अपुग भएकाले अब तुरुन्तै पुनः ग्राभेल गरेर हिँडडुल गर्नसम्म मिल्ने बनाइने उनले बताए ।