धनगढी २३ पुस/पछिल्लो केही दिनदेखि सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित बढ्न थालेपछि मुख्यमन्त्री स्तरिय बैठक बसेको छ । मुख्यमन्त्री अध्यक्ष रहेको प्रदेश कोभिड–१९ संक्रमण रोकथाम तथा ब्यवस्थापन समितिको बैठक बसी सम्भावित तेस्रो लहरको रोकथाम तयारीका विषायमा छलफल गरेको छ ।
छिमेकी भारतमा नयाँ नयाँ भेरियन्टको कोरोना भाईरस देखिएदै गएपछि केही शहरमा लकडाउन तथा कर्फुजस्तै लाग्न थालेपछि नेपाली कामदार घर फर्किन थालेको र सीमामा आउनेहरुमा कोरोना टेष्ट गर्दा संक्रमण देखिएन थालेपछि सुदूरपश्चिम प्रदेश सरकारले रोकथाम तथा नियन्त्रणमा तयारी थालेको छ ।
शुक्रबार मख्यमन्त्रीको अध्यक्षतामा बसेको बैठकले सुदूरपश्चिम भित्रिने सबैजसो नाकामा स्वास्थ्य हेल्प डेस्कलाई थप ब्यवस्थित पार्ने, कैलाली कञ्चनपुरका सीमामा बनाइन लागेका होल्डिङ सेन्टरलाई चाँडो तयारी अवस्थामा राख्ने, प्रदेश सरकारले स्थानीय तह प्रशासन सुरक्षा निकाय तथा सामाजिक संघसंस्थासँग समन्वय गरेर थप कदम चाल्ने लगायतका सुझाव आएको बैठकमा सहभागी सामाजिक विकास मन्त्रालय अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा जगदीश जोशीले जानकारी दिए ।
बैठकमा प्रदेश सरकारका मन्त्रीहरु, प्रमुख सचिव, कैलाली कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, सेना, प्रहरी लगायतका सुरक्षा निकायका प्रदेश प्रमुख र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।