रुकुम,। १७ पुस । रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–५ मा खानेपानी आयोजना निर्माण हुने भएको छ। सो वडामा खानेपानीको थप आपूर्तिका लागि ठूलो आयोजना निर्माणको प्रक्रिया सुरु भएको हो। खानेपानी आयोजनाको शुक्रबार शिलान्याससमेत गरिएको छ। वडा नम्बर ५ का वडाध्यक्ष शान्तेबहादुर विकले थाक्नाखोला खानेपानी आयोजनाको शिलान्यास गरे।
लुम्बिनी प्रदेश सरकारको नौ करोड बजेटमा खानेपानी आयोजना निर्माण हुन लागेको छ। थाक्नाखोलाको मुहानबाट पानी ल्याउन लागिएको हो। खानेपानीको आयोजनामा ७५ हजार लिटर क्षमताका पाँच वटा ट्याङ्की निर्माण गरिने छ। वडा नम्बर ५ को रुमालबारा, बाहुनठाना र टाकुरामा थप खानेपानीको आपूर्तिका लागि यो आयोजना निर्माण गर्न लागिएको हो। वडाका करिब ५०० घरधुरीमा खानेपानीको सहज सुविधा पु¥याउने गरी खानेपानी आयोजना निर्माणको प्रक्रिया सुरु गरिएको वडाध्यक्ष विकले बताएका छन्।
पञ्चवर्षीय योजना भएकाले क्रमागतरुपमा यो खानेपानी आयोजनाले पूर्णता पाउने छ। चालु आर्थिक वर्ष २०७८र७९ मा एक करोड पाँच लाख बजेटको काम हुने बताइएको छ। उपभोक्ता समितिमार्फत नै खानेपानी आयोजना निर्माण गर्न लागिएको छ। समितिको अध्यक्षमा टोपबहादुर कार्की, सचिवमा डिक्कु बुढा र कोषाध्यक्षमा गीता शाह रहेकी छिन्। अहिले पनि वडा नम्बर ५ का सबै बस्तीका घरघरमा खानेपानीका धारा रहेका छन्। दीर्घकालीनरुपमा योजना निर्माण गरी पछि थप पानीको आवश्यक पर्ने भएकाले यो खानेपानी आयोजना निर्माण हुन लागेको हो।
वडाका सबै घरधुरीमा सहजरुपमा शुद्ध खानेपानीको पहुँच पुर्याउने लक्ष्यअनुसार काम भइरहेको वडाध्यक्ष विकले बताए। अहिले ठाराखोला, घङगारचौर र रासुछहरा गरी तीनवटा मुहानको पानी ल्याएर वडा नम्बर ५ का बस्तीमा खानेपानीको आपूर्ति भइरहेको छ। जनसङ्ख्या वृद्धि र बस्ती विकास हुँदै गएकाले भोलिका दिनमा थप पानीको आवश्यक पर्ने भएकाले अहिलेबाट थाक्नाखोला खानेपानी आयोजना निर्माणको काम सुरु गरिएको बताइएको छ।
रासस