झलक दवाडी/धनगढी: पछिल्लो समय सामाजिक संजालमा भाईरल हुने ट्रेन्ड निकै बढिरहेको छ । दिनप्रतिदिन सामाजिक संजाल प्रयोगकर्ताको संख्या वृद्धि भैरहेको परिवेशमा हालै एक शिक्षक भाईरल भैरहेका छन् । सामाजिक संजालमा कुनबेला को भाईरल हुन्छ भन्ने आकलन गर्न सकिँदैन । जुनसुकै परिवेश वा जुनसुकै क्षेत्रका जो कोहि पनि यो डिजिटल दुनियामा भाईरल हुन्छन् ।
हाल फेसबुकमा निकै हिट भैरहेको तस्बिर हो कक्षा कोठामा शिक्षक सुतिरहेको । यो तस्बिर कहाको हो भन्ने अझै थाह भएको छैन । तर थुप्रैले आफ्ना फेसबुकमा पोस्ट गरेका छन् । तश्विरमा एक जना शिक्षक किताव राख्ने डेस्कमा खुट्टा राखेर सुतिरहेको देख्न सकिन्छ भने बिद्यार्थीहरु कोहि बाहिर फोटो खिच्नेलाई हेरिरहेका छन् त कोहि भित्रै आफ्नै तालमा छन् ।
थाहाखबरमा कार्यरत पत्रकार टेकसिंह धामीले आफ्नो फेसबुकमा उक्त तस्विर राख्दै लेखेका छन् ‘मास्टर साव ! उज्यालो भइसक्यो, उठ्नुस अब ’ यो पोस्ट गरेको तस्बिरहरू यतिबेला भाइरल भएको छ ।
भाईरल मात्र हैन उनको तस्बिर राख्दै ‘क्रस’ ट्रेन्ड समेत चलिरहेको छ । सोहि तस्बिर प्राईम टाईम्स टेलिभिजनका कैलाली सम्बाददाता किर्त बिस्टले पनि व्यंग्य गर्दै आफ्नो फेसबुकमा राखेका छन् । सो फोटोमा सिकाई नभएर सुताई भएको प्रतिक्रियाहरु आएका छन् । विभिन्न व्यक्तिहरुले राखेको यो फोटोमा टिका टिप्पणी पनि उतिकै छ ।धेरैले गरेको प्रतिक्रियामा ‘शिक्षक कस्ता छन्रु यो गलत भैराखेको छ । विद्यार्थीको भविष्य र सहि शिक्षा पाउने अधिकार खोसेर काम चलाउ शिक्षाले गर्दा उल्टो सिकाइ प्रदान गरिरहेको छ । यो ज्ञान धेरै घातक हुनेवाला छ । ’ जस्ता शब्द देख्न सकिन्छ ।
कस्तो हुनुपर्छ शिक्षक
पढाउनु प्रक्रिया मात्र होइन, कला पनि हो । ज्ञान हुनु वा विषयमा पोख्त हुनु मात्र शिक्षणका निम्ति आवश्यक पर्ने गुण होइन । शिक्षकमा पढाउने कला पनि हुन जरुरी छ । ज्ञान अनि कला दुवै हुनु उत्कृष्ट शिक्षकको परिचय हो । अहिले २१औँ शताब्दीका विद्यार्थी शिक्षकभन्दा पहुँचका हिसाबले धेरै शक्तिशाली छन् । अहिलेका शिक्षकको चुनौती, आफू त्यो संसारमा फिट हुनु हो । त्यसका निम्ति, शिक्षक र विद्यार्थीको संवाद अनि सम्बन्धको भूमिका महत्वपूर्ण छ । शिक्षकमा विषयलाई प्रस्तुत गर्ने राम्रो कला हुनु महत्वपूर्ण छ । शिक्षाको मूल उद्देश्य आफूलाई अभिव्यक्त गर्नु हो ।
कक्षाकोठाभित्र शिक्षकको आकर्षण
कक्षाकोठामा छिर्नेबित्तिकै सबै विद्यार्थीको आँखामा पर्ने व्यक्ति शिक्षक हो । कक्षा सञ्चालन अवधिभर शिक्षक र विद्यार्थीबीचमा आँखा जुध्छन्, पठनपाठनको विषयमा चर्चा हुन्छ । त्यसैले शिक्षकको भूमिका कक्षामा विद्यार्थीसँग असल र नम्र भएर वार्तालाप भएको हुनुपर्छ ।
विद्यार्थीलाई भौतिक सजाय दिएर र अपशब्द बोलेर आफ्नो काबुमा राख्न खोज्ने शिक्षकको बारेमा यदाकदा सुन्नमा आउँछ । त्यस्ता शिक्षकले विद्यार्थीलाई नराम्रो असर पर्ने गरी शारीरिक सजायको भागी बनाएको सुनिन्छ, जुन सरासर गलत छ ।
किनभने शिक्षक एउटा मार्गदर्शक हो तर विद्यार्थीलाई शारीरिक र मानसिक असर पुर्याउने गरी क्रियाकलाप गर्ने उसको अधिकारको कुरा होइन ।
शिक्षकको व्यवहार र हाउभाउका आधारमा विद्यार्थीले शिक्षकलाई कस्तो व्यवहार गर्ने भन्ने निर्धारण गरेका हुन्छन् । विद्यार्थीको उमेर, समूहअनुसार फरकफरक व्यवहार पनि गर्नुपर्ने हुन्छ । हल्ला गर्यो भनेर पिट्ने शिक्षकलाई, सजाय पाउने विद्यार्थीले मात्र होइन, अरूले पनि मन पराउँदैनन् ।
हल्ला गर्ने, पढाइमा ध्यान नदिने विद्यार्थीलाई पनि प्रेमपूर्ण तरिकाले सम्झाउने गर्नुपर्छ । किनकि प्रेमले सबै कुरालाई जित्न सक्दछ । शिक्षक भन्नासाथ अनुहार देख्दै डरलाग्दो हुनुपर्छ भन्ने पुरानो मान्यतालाई त्याग्दै हँसिलो, विद्यार्थी बोल्न र आफूले नबुझेका कुरा सोध्न नडराउने खालको हुनुपर्छ ।