धनगढी, १७ बैशाख। सुदूरपश्चिम प्रदेश नेपाली काँग्रेस संसदीय दलले कोराना रोकथाम, नियन्त्रण र उपचारमा प्रदेश सरकार पूर्णत असफल र गैर जिम्मेवार भएको ठहर गरेको छ। आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सुदूरपश्चिम प्रदेश नेपाली काँग्रेस संसदीय दलका नेता डा. रण बहादुर रावलले कोरोना संक्रमण फैलिएको एक वर्ष बित्दा पनि कोरोना अस्पतालहरुको स्थापना, शैया संख्याको बृद्धि, चिकित्सक र स्वास्थ्यकर्मीहरुको दरबन्दी थप्न प्रदेश सरकार र संघीय सरकार उदासिन र गैर जिम्मेवार भएको आरोप लगाए।
नेता रावलले कोरोना संक्रमणले भयावह रुप लिदा पनि प्रदेश सरकार र संघीय सरकार आपसी द्धन्दमा व्यस्त रहनु वा नागरिकको जीवन रक्षाका लागि उदासिन हुदा यस्तो अवस्था सृजना भएको बताए।
उनले सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु यो समयमा पनि जिम्मेवार नहुनुले यहाँका नागरिकले सरकार र अभिभावक बिहिन महशुस गरिरहेको गुनासो गरे। पत्रकार सम्मेलनमा बोल्दै रावलले भने, प्रदेश सरकार यतिबेला पनि नागरिकको जीवन रक्षा भन्दा पनि कमिसन र भ्रष्टाचारका योजना बाडफाँडमा तल्लिन रहनु दुर्भाग्यपूर्ण कुरा हो।
नेता रावलले सीमाबाट भित्रिने हरेक नागरिकको नाकामै स्वास्थ्य परीक्षण गर्न र पोजेटिभ देखिएकालाई उपचार र अन्यलाई गन्तव्यसम्म पु¥याउने व्यवस्था गर्न प्रदेश सरकारसंग माग गरे। उनले सुदूर पश्चिमका नौ वटै जिल्लामा भेन्टिलेटर र आईसियु समेतको उपचारको व्यवस्था अविलम्ब गरियोस। सञ्चालनमा नआएका आईसिुय र भेन्टिलेटरलाई तत्काल सञ्चालन गर्न आग्रह गरे।
सुदूरपश्चिमको सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र उपक्षेत्रीय अस्पताल डडेल्धुरामा तत्काल चिकित्सक र स्टार्फ नर्सको संख्या थप गर्न आग्रह गर्दै नेता रावलले भने, सुदूर पश्चिमका सम्पूर्ण अस्पतालहरुमा अक्सिजनको आपूर्ति तत्काल गरियोस। अक्सिजनको अभाव र उपचार नपाएर नागरिकले अकालमा मृत्युवरण गर्न नपरोस। सरकार भएको अनुभूति सुदूरपश्चिमका नागरिकले गर्न सकुन।
उनले कोरोना उपचार, रोकथाम र नियन्त्रणमा अग्रभागमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, ल्याव टेक्निसियन, सुरक्षाकर्मीहरु सञ्चारकर्मीहरु, अत्यावश्यकीय सेवा प्रदान गरिरहेकाहरुको मनोबल उच्च बनाउन सवैलाई प्रोत्साहन र जोखिम भत्ता प्रदान गर्न सरकारसंग आग्रह गरे।
नेता रावलले गेटा मेडिकल कलेज र आयुर्वेदिक अस्पतालाई कोरोना अस्पतालका रुपमा प्रयोग गरी त्यहाँ तत्काल पाँच सय शैयाको उपचारका लागि शैया, चिकित्सक, स्वास्थ्यकर्मी, भेन्टिलेटर, आईसियुको व्यवस्था गर्न समेत सरकारलाई सुझाव दिए।
सुदूरपश्चिममा एम्बुलेन्स र शव बाहनको समेत चरम अभाव देखिएकोले तत्काल एम्बुलेन्स र शव बाहनको संख्या थप गरियोस, पत्रकार सम्मेलनमा नेता रावलको आग्रह थियो, स्वास्थ्य अवस्था जटिल भएका संक्रमितहरुलाई थप उपचारका लागि प्रदेश लैजानु पर्ने भएकोले सुदूर पश्चिममा कम्तिमा एउटा हेलिकोप्टरको व्यवस्था गरियोस।
उनले पीसीआर परीक्षणको दायरा बढाउन र हरेक जिल्लामा पीसीआर ल्यावको अविलम्ब व्यवस्था गरि २४ सै घण्टा पीसीआर परीक्षणको व्यवस्था गर्न सरकारसंग माग गरे ।भ्याक्सिन र स्वास्थ्य सामग्रीमा सरकारले गरिरहेको कार्टेलिङ र कमिसनखोरी बन्द गर्न आग्रह गर्दै नेता रावलले भने, कोेरोना खोप सम्पूर्ण नागरिकका लागि सर्बसुलभ गरियोस। हरेक नागरिलाई खोपको व्यवस्था गरियोस।
नेता रावलले कोरोना संक्रमण रोकथामका लागि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा पूर्ण रुपमा पालना गर्न समेत आमजनतासंग अपिल गरे। सरकारका गतिबिधि र क्रियाकलाप प्रति बिमती रहेपनि कोराना रोकथाम र नियन्त्रणका लागि नेपाली काँग्रेस सदैव सरकारको साथमा रहेको नेता रावलले बताए।