मिलन ओली, धनगढी, २५ फागुन/पूर्व पश्चिम महेन्द्र राजमार्गमा पर्ने कैलालीको बौनियाँ बजारबाट करिब ५ किलोमिटर उत्तर तर्फको दुरीमा बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ पर्दछ । जुन साबिकको दोदोधारा गाउँ विकास समिति वडा नम्बर १ हो । राष्ट्रिय गौरवको आयोजना मानिएको र निकै चर्चामा रहेको सेती लोक मार्ग समेत यसै वडालाई छोएर अघि बढ्ने हो ।
यस वडाको वरिपरि दुई ठुला काँडा र कुहिरा नदी पर्दछ भने उत्तर क्षेत्रमा चुरे पहाड र त्यसको फेदीमा यो वडा । २०६८ सालको जनगणना अनुसार करिब १ हजार ३ सय घरधुरी र ६ हजार जनसङ्ख्या भएको यस वडामा अधिकांश दलित समुदायको बस्ती छ । श्रीलङ्काको टापु जस्तै मानिने यस वडामा दुई ठुला काँडा र कुहिरा नदी लगायत डोब्के खोला जस्ता स–साना खोल्साहरूले चारै तिरबाट घेरेको छ । १० किलोमिटर लम्बाइ ओगटेको काँढा नदी, १५ किलोमिटर लम्बाई ओगटेको कुहिरा नदिले वर्षा यामको समयमा वर्षनी खेतीयोग्य जमिन कटान गर्नको साथै नदी आसपासमा बसेका सयौँ बस्तीहरू विस्थापित हुने गरेका छन् ।
देशमा सङ्घीय लोकतान्त्रिक व्यवस्था कायम भएपछि तिन तहको सरकार छन् । गाउँघरमै सरकारको व्यवस्थाले सिंह दरबारको अधिकार गाउँ गाउँमा आउने भनिए पनि यस वडाका जनताले भने त्यसको अनुभूति गर्न पाएका छैनन् । वडाको विकास तथा जनताको समस्या समाधानका लागि तीनै तहको सरकारले लगानी नगरेको पनि होइन तर स्थानीय आवश्यकता, परिवेश तथा अवस्थाको अध्ययन नै नगरी हचुवाको भरमा भित्रिएको सरकारी लगानीले जनताको अपेक्षा पुरा गर्न सकेको छैन । जनताको चाहना ठुलो, समस्या र चुनौतीका बिच पनि यस वडामा केही राम्रो काम पनि भएको छ ।
कैलाली निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य झपट रावलको पहलमा वडामा खानेपानीको लागि गत आर्थिक वर्षमा १ करोड बजेट प्राप्त भएको थियो । उक्त रकमबाट घरघरमा पाइपलाइन बिस्तार समेत भएको छ । भने चालु आर्थिक वर्षमा ट्याङ्की निर्माणका लागि समेत १ करोड ५० लाख बजेट प्राप्त भई काम पनि अघि बढी सकेको छ । यस्तै सिचाई सुविधाका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य नन्द बहादुर साउदको पहलमा २३ लाख बजेटबाट रानिकुण्डामा डिपबोरिङ्ग गाडिएको छ ।
श्री जगदम्बिके भगवती माध्यमिक विद्यालयमा भवन निमार्णका लागि सुरुमा सङ्घ, प्रदेश र गाउँपालिकाको संयुक्त सहकार्यमा ९२ लाख बजेट जग बनाउन विनियोजित भई ठेक्कापट्टा भई काम समेत सुरु भइसकेको छ । भने हाल दोस्रो पटक जग ढलान तथा जगमा इँटा चिनाईका लागि सङ्घ, प्रदेश र गाउँपालिकाको संयुक्त सहकार्यमा नै २९ लाख बजेट विनियोजित भई ठेक्कापट्टा भई काम समेत सुरु भइसकेको छ ।
वडा नं. ३ को कार्यालयबाट गत वर्ष खैरेनीमा वीर बहादुर चौधरीको मिल देखि वडा स्वास्थ्य इकाई भवन सम्म ६० लाख बजेटबाट ठेक्कापट्टा भई सडक कालोपत्रे भएको थियो । यो नै वडाको एक मात्र पहिलो पक्की सडक हो । यसै वर्षको भर्खर मात्र सिचाइका लागि बुटकुवामा सङ्घीय सांसद झपट रावलको पहलमा तिन वर्षीय योजनाको लागि १ करोड बजेट विनियोजन भई डिपबोरिङ्ग खोद्न पाइप बिस्तार गर्न र ट्याङ्की निर्माण हुनेछ ।
यसै वर्षको भर्खर मात्र खैरेनीको खानेपानी नजिक डिपबोरिङ्ग खोद्न कृषि ज्ञान केन्द्र महेन्द्रनगरबाट ३० लाख बजेट विनियोजित भई काम सुरुवात भएको छ । यी हाम्रो वडामा सम्पन्न भएका र हुँदै गरेका २० लाख भन्दा माथिका योजनाको बारेमा सविस्तार चर्चा गरे । वडा कार्यालयबाट पनि थुप्रै कामहरू भएका छन् ।
झाला टोलमा नयाँ ट्र्याक देखी २ वटा ठुला कल्भर्ट निर्माण, खैरेनी देखि बुटकुवामा जाने दैलेखि टोलमा नयाँ ट्र्याक खोल्ने, बुटकुवा माथिल्लो खल्लाको शान्ति टोलले परिचित स्थानमा नयाँ ट्र्याक निर्माण, विभिन्न स्थानहरूमा बाटो ग्राभेल , खैरेनीमा राम जानकी मन्दिर परिसरमा सामुदायिक भवन निर्माण, सार्वजनिक शौचालय निर्माण, घेरा पर्खाल निर्माण , जगदम्बिके भगवती माध्यमिक विद्यालयमा व्यावसायिक मार्केटका लागि सटर तथा भवन निर्माण, १५÷२० वटा जति सिचाई बोरिङ्ग वितरण, मुक्त कमैया शिविरमा पक्की भवन निर्माण जस्ता साना देखिने खालका विकासका काम भएकै छन् ।
तर यस ठाउँमा जनताको खास चिन्ता चासो र विकासको माग यति मात्र थिएन । जताको मुख्य प्राथमिकता र चुनाव ताका पनि जनताको खास जनप्रतिनिधि सँगको माग ३ वटा थिए ।
१. कुहिरा नदिमा तत्काल विकल्पका लागि झोलुङगे पूल
२. सोही नदीमा पक्की पुल
३. वडाको चारै तर्फ नदिमा तटबन्ध र सेती लोकमार्ग निर्माण
तर दुखद कुरानै भन्नु पर्छ ३ वर्ष पुगेर ४ वर्ष लाग्दै गर्दा समेत हाम्रा जन निर्वाचित प्रतिधीहरूको कुनै चासो र चिन्ता नहुनु हाल सम्म बजेट विनियोजित नहुनुले जनतामा निकै चिन्ता र आक्रोश छाएको छ । वडाको मानव बस्ती चारै तिरबाट नदिले घेरेको तर पुल अभावले वर्षा याममा बाढी आएको समयमा निकै सास्ती हुने गरेको छ । पुल अभावले बौनिया बजार, मुडा बजार वा ती बाहेकका क्षेत्रहरूमा विद्यार्थीलाई पढ्न, बिरामीलाई औषधी उपचार गर्न, कर्मचारीलाई कार्यालय आउजाउ गर्न समस्या छ ।
वर्षा यामको समयमा वडाको विभिन्न क्षेत्रमा बर्सेनि बाढी र पहिरोको कारणले किसानहरूको खेति बालि, तरकारी, फलफूल सागसब्जी र पोखरीमा पालन गरेका माछाहरू बग्ने तथा नष्ट हुने गरेको र नदिको छेउछाउमा भएका कयौँ बस्तीहरू बगेको पहिरोले पुरिएको जस्ता दर्दनाक घट्नाहरु घटेको यथार्थता यस ठाउँको प्रतिनिधित्व गर्ने सरकारका प्रतिनिधीहरुमा छर्लङ्गै छ ।
यी र यस्ता समस्या लिएर विभिन्न निकायहरूमा धायौ, समस्या दर्सायौ तर हाम्रो समस्याको कुनै निकायबाट सुनुवाइ भएन । यस ठाउँबाट निर्वाचित जनप्रतिनिधि र माननीय ज्यूहरूलाई समस्या बारे भन्दा त्यस बेला हुन्छ भन्ने आश्वासन आउँछ तर पछि भुलिहाल्ने प्रवृत्ति छ । यदि यस क्षेत्रमा कहिबाट ध्यानाकर्षण नहुने हो भने स्थिति निकै कष्टपूर्ण, दयनीय र जोखिमपूर्ण हुनेछ । वडामा जनताको अपेक्षा अनुरूपका काम नहुँदा सरकारले गरेका राम्रा कामहरू समेत ओझेल परेका छन् । जसका कारण जनताहरूको मनमा आक्रोशको ज्वाला सल्किन थालेको छ ।
कतिपय स्थानीयहरूले त आक्रोश समेत व्यक्त गर्न थालेका छन् । अव आउँदो निर्वाचनमा नेतालाई बहिस्कार गर्ने, भोट कसैलाई नहाल्ने भन्दै अभिव्यक्तीहरु दिन थालेका छन् । सेती लोक मार्ग अवस्था पनि निकै दयनीय छ । अहिले ३ नम्बर वडाबाट बौनिया र बौनिया बाट ३यस वडामा आउजाउ गर्न समेत निकै कठिनाइ छ । सडकमा खाल्डाखुल्डी त छन् नै बाटोको दुरावस्थाका कारण धुलाम्मे सडकले सास्ती पाउनुका साथै स्वास्थ्यमा समेत जोखिम बढ्दै गएको छ ।
बाहिर निकै चर्चामा रहे पनि वास्तविक अवस्था देख्दा सेती लोक मार्ग निर्माण हुने वा नहुने भन्ने समेत अन्यौलता छाएको आम नागरिकहरुकाले आभास गर्न थालेका छन् । त्यस कारण अन्य विषयलाई थाति राखेर भए पनि अविलम्ब कुहिरा नदिमा पुल, सेती लोक मार्गको निर्माणमा तीव्रता, वडाको चारैतिर तटबन्ध वर्तमान अवस्थाको अति आवश्यक योजनाहरू हुन ।
कृषि, शिक्षा, स्वास्थ्य, भौतिक संरचना लगायतको सबै योजनालाई यथावस्थामा रोकेर भए पनि यी तीन योजनामा सरकारले लगानी गर्दै तीव्र रूपमा विकास गर्न यस वडाका नागरिकहरुले माग गर्दै आएका छन् । जनताको सुझावलाई समेत बेवास्ता गरी सत्ता र सक्तीकै आडमा र परिकल्पना विहीन तथा अल्पकालीन योजनालाई मात्र बढी जोड दिने हो भने त्यसको परिणाम स्वरूप निकट भविष्यमा ठुलो मूल्य चुकाउनु पर्ने निश्चित छ ।