धनगढी, फाल्गुन ११/ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाली कांग्रेसका संस्थापक नेता तथा राष्ट्रिय सभाका पूर्वसदस्य गंगादत्त जोशी कांग्रेस कमजोर भएको समयमा पनि स्वीकार्य व्यक्तित्व भएको बताएका छन् ।
स्व.जोशीको १३ औं दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका साउदले जोशी एमालेको पकड रहेको त्यस समयमा पनि सबैलाई रिझाएर विजयी हुनसक्ने सर्वस्वीकार्य व्यक्ति भएको बताएका छन् ।
उनले भने, “जतिखेर सुदूरपश्चिममा कांग्रेसको बहुमत थिएन । चुनावमा कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग मिलेर पनि बहुमत आउनसक्ने स्थिति नभएको समयमा कांग्रेसबाट टिकट पाएर विजयी हुनुभएको थियो । उहाँसँग सबैलाई बुझाउनसक्ने र रिझाउनसक्ने क्षमता थियो । उहाँ सबैका लागि स्वीकार्य हुनुहुन्थ्यो ।”
स्व. जोशी पञ्चायतको समयमा पनि आफ्नै काठको मिलमा भेला गराउन सफल र निडर व्यक्तित्व भएकोसमेत उनले बताएका छन् । “उहाँको काठको मिल थियो । पञ्चायतको समयमा सोही मिलमा कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलगायतका शीर्ष नेतृत्वहरु आएर भेला भएको थियो । पञ्चायतविरुद्धको बैठक पनि उहाँको घरमा राख्ने आँट उहाँले गर्नुभयो । प्रशासनसँग पनि निकै राम्रो सम्बन्ध राख्नु हुँदो रहेछ ।”
उत्कृष्ट आर्थिक पारदर्शीता, निस्वार्थ र असल व्यक्तित्वको छवी बनाएका स्व. जोशीको सार्थक योगदानलाई पार्टी सधै स्मरण गरिरहने नेता साउदले बताए ।
जोशीको माघ २८ गते बुधबार बिहान महेन्द्रनगरस्थित निवासमै ८५ वर्षको उमेरमा हृदयघातबाट निधन भएको थियो ।
२०५५ मा राष्ट्रिय सभा सदस्य रहिसकेका जोशी २०५९ मा कांग्रेस कञ्चनपुरको सभापति भएका थिए ।