धनगढी, फाल्गुन ३ / नेपाली कांग्रेसकी नेतृ डा। डिला संग्रौलाले गृहमन्त्री रामबहादुर थापाको राजीनामा मागेकी छन् । नेपाल प्रेस युनियन दार्चुलाले सदरमुकाम खलंगामा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा डा. संग्रौलाले गृहमन्त्री थापाको राजीनामा मागेकी हुन् ।
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या हुँदा गृहमन्त्री थापाले दिएको ‘बलात्कारका घटनाहरु हिजो पनि हुन्थे, भोलि पनि हुन्छन्’ भन्ने अभिव्यक्ति स्मरण गर्दै उनले भनिन्, “घटना भएको ११ दिनसम्म पनि भागरथी भट्टका हत्यारा पक्रन नसक्ने गृहमन्त्रीको म राजीनामा माग्न चाहन्छु ।”
नेतृ डा. संग्रौलाले सरकारनै बलात्कारी र हत्याराको संरक्षणमा लागेको पनि दाबी गरिन् । उनी माघ २१ गते बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिकाको चडेपानीकी १७ वर्षीया किशोरी भागरथीको न्यायका लागि सुदूरपश्चिमका जिल्लाहरुमा भइरहेको प्रदर्शनमा सहभागी हुँदै आएकी छन् ।
कैलालीको धनगढीबाट भागरथीको न्यायका लागि सुरु भएको प्रदर्शन सुदूरपश्चिमका नौ वटै जिल्लामा प्रदर्शन गरिने नेतृ डा, संग्रौलाले जानकारी दिएकी छन् ।
