धनगढी, फाल्गुन १/ प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपालले छाडेपछि पार्टी थप एकताबद्ध भएको दाबी गरेका छन्।
आफ्नो पक्षले बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘देश बनाउन नसक्ने तत्वहरू पार्टी छाडेर बाहिरिएको छन्, पार्टी छाडेर बाहिरिनेहरूले सरकार विरुद्ध डम्फू बजाइरहेका छन्।’
संसद विघटन र चुनाव गराउने काम भन्ने प्रतिगमन हो भने कस्तो प्रणाली चाहिएको हो भनी प्रश्न गर्दै ओलीले भने, ‘देश बनाउने कुरा नभएर एक जनालाई प्रधानमन्त्री र अर्कोलाई अध्यक्ष हुन मन लागेर पार्टीभित्र विवाद झिकिरहेको थिए।’
भारतले मिचेको भूमिसहितको नयाँ नक्सा संसदबाट पास गराएपछि प्रचण्ड–माधव पक्ष आत्तिएर सरकार ढाल्न लागेको पनि उनले दाबी गरे।
‘पार्टीभित्रैबाट काम गर्न दिनुभएन, संवैधानिक आयोगमा तीन वर्षदेखि तगारो थपिरहनुभयो, उहाँहरू हटेपछि आयोग बन्यो। उहाँहरू गएपछि नै पार्टी गतिशील भएको छ,’ उनले भने, ‘हिजो पार्टीभित्र बसेर गाली गरिरहेका थिए, आज बाहिर गएर गरिरहेका छन्, त्यति मात्रै फरक हो।’
प्रचण्ड–माधव पक्षले पार्टी छाडेपछि पार्टी थप एकताबद्ध र अनुशासित भएको पनि ओलीको दाबी थियो। ‘कठैबरा भन्नुपर्ने मान्छे बाहिर गएका छैनन्, पार्टीलाई बदनाम गर्नेहरू मात्रै बाहिर गएका छन्,’ उनले थपे।
उनले आफ्नो सरकार आएपछि देशभर विकासका लहर छाएको समेत दाबी गरे।