धनगढी, फाल्गुन १/ लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डले एमालेलाई फुटाएर लाभ लिन खोज्दा जनतासँग भीख माग्नुपर्ने अवस्थामा पुगेको बताएका छन्।
नेकपा ओली पक्षले बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै उनले भने, ‘पार्टीबाट बाटो बिराएर गएकाहरू फर्किएर राजनीतिक भविष्य सुरक्षित गर्न यता आउनुहोस्।’
वैशाखमै निर्वाचन हुने दाबी गर्दै पोखरेलले ओली नेतृत्वको नेकपाले पहिलाको भन्दो राम्रो नतिजा ल्याउने दाबी गरे। ‘रोल्पा र रुकुममा पनि ओली नेतृत्वको पार्टीले चुनाव जित्छ। प्रचण्ड र माधव चुनावबाट डराएर भागिरहेका छन्,’ उनले थपे, ‘ढाडमा टेकेर पटक(पटक अर्काको टाउको हान्न खोज्दा प्रचण्ड सडकमा पछारिन पुगे।’
एमाले फुटाएर लाभ लिन खोज्दा जनतासँग भीख मान्नुपर्ने अवस्थामा प्रचण्ड पुगिसकेको पोखरेलले दाबी गरेका हुन्। ओली नेतृत्वमै देश विकास र समृद्धिको बाटोमा लाग्ने उनले जिकिर गरे।
निर्वाचन आयोगले ओली नै नेकपाको अध्यक्ष र विष्णु पौडेललाई नै महासचिव भनेकाले आफूहरू नै आधिकारिक भएको समेत पोखरेलले दाबी गरेका छन्।
