धनगढी, मंसिर २३/ धनगढी बजारको पुल नजिक ऐलानी जग्गामा १२ वर्ष अघिदेखि बस्दै आएको नरु देवीको परिवार तीन दिन अघिदेखि बेघरबार भएको छ । उपमहानगरपालिकाले नाप नक्साभित्र परको जग्गा भनी डोजर लगाएर उनको टिनको टहरो भत्काइदियो ।
टहरो भत्किएपछि तीन छोरा, श्रीमान् र नातिनीसहित नरु देवीको परिवार खुला आकाशमा बस्न बाध्य भएको छ ।
डोजरले टहरो भत्काउन खोज्दा नरु देवीका श्रीमान्, छोरा र २ वर्षकी बालिका सडकमै सुतेर अवरुद्ध गर्न खोजे पनि स्थानीय सरकार र धनगढी वडा प्रहरी कार्यालयका कर्मचारीहरू बीच उनीहरू निरीह बने । केही दिनअघि उपमहानगरकी उपप्रमुखले निरीक्षण गर्दा भत्काउनु नपर्ने बताए पनि एक्कासि डोजर लगाउँदा उनी आश्चर्य चकित भएकी छन् ।
नरु देवी को हुन् ?
नरु देवी बोहोराको परिवार द्वन्द्वकालमा डोटी जिल्लाबाट विस्थापित भएको हो । राजनीतिसँग दूरसम्म कतै नाता नभएको परिवारले धनगढी बजारमा खेप्नु सास्ती खेप्यो । तत्कालीन माओवादी र प्रहरीबीच भएको द्वन्द्वमा उनको खुट्टामा गोली लाग्यो ।
‘द्वन्द्वकालमा लागेको गोलीको पीडा अहिले पनि ताजै छ ।’ २०६० सालमा धनगढीकै सेतो पुलमा सशस्त्र द्वन्द्वका बेला दोहोरो भीडन्त हुँदा प्रहरीको गोली लागेर आमा घाइते भएको नरु देवीका छोरा राजेन्द्र बोहराले बताए । बोहराले भने, ‘सरकारले मेरो आमालाई गोली हानेर अपाङ्ग त बनायो तर राहतबाट पनि पीडित बनायो ।
सरकारका तर्फबाट उपचार त भयो तर खुट्टा पहिला जस्तै दह्रो कसरी बन्थ्यो र ! सडक दुर्घटनामा परी श्रीमान् पनि घाइते भएपछि अर्को संकट थपियो । श्रीमान् काम गर्न नसक्ने भए । त्यतिमात्रै होइन एउटा मृगौलाले काम गर्न छोडेको डाक्टरले बताएपछि औषधीकै भरमा जीवन धान्नुपर्ने बाध्यतामा उनी थलिए । एकपछि अर्को विपत्ति बेहोरेकी नरु देवीले २०७६ को दसैंमा बुहारी गुमाइन् । एक १ वर्षकी छोरी छोडेर बुहारीले आत्महत्या गरेपछि नातिनी करिश्माको अभिभावकत्व पनि नरु देवीकै जिम्मामा आयो । दुई छोरा राजेन्द्र र करण विद्यालय जान्छन् । जेठो छोरा मेघराज मजदुरी गर्छन् ।
‘आफूलाई मासिक २५ हजारभन्दा बढीको औषधी मात्रै लाग्छ’, नरु देवीले भनिन्, ‘श्रीमान्का लागि औषधी, केटाकेटीको पालन पोषण सबैको जोहो गर्ने त्यही एउटा टहरो थियो ।’ त्यसै टहरामा चिया पसलसँगै गाई, कुखुरा तथा हाँस पालेर दुःखका साथ जीवन धानिएकै थियो । अब त त्यो पनि छैन, उनी भावुक बनिन् ।
‘राजनीतिक चलखेल’
‘राज्यले अपाङ्गको परिचयपत्र बनाइदिएको छ, तर राज्यले अझै पनि भत्ता दिएको छैन’ नरु देवीले भनिन् । ‘यसभन्दा अघि सरकार कता हराएको थियो ? खै त मैले अपाङ्ग भत्ता पाएको ? चिया र नास्ताको ठेला लगाएर परिवार लालनपालन गरेको देखेर टोल उपभोक्ता समितिका प्रमुखलाई गाह्रो भएको थियो, यो सबै उनैको काम हो ।’ अब यो अवस्थामा परिवार लिएर म कता जाऊँ ?’ नरु देवीले प्रश्न गरिन् ।
‘टोल उपभोक्ता समितिले बत्ती र पानी पनि दिएको थिएन, उनले भनिन्, ‘मैले यिनीहरूको के बिगारेको थिएँ, आफैं गरिखाएको थिएँ, त्यो पनि देख्न सकेनन् ।’
सार्वजनिक साझेदारीबाट सञ्चालित तरकारी हाट बजारमा नरु देवीको परिवारलाई केही समयका लागि निःशुल्क बस्न दिने र व्यापार बढ्दै गएपछि भाडा दिनुपर्ने सर्तमा सहमति भएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाले खुला नालमा निर्माण भएको घर टहरा भत्काउने अभियान थालेको छ ।
विकल्प दिएर नाला कब्जा गरेर निर्माण भएका पक्की भवन भत्काएमा आफूहरू ठाउँ खाली गर्न तयार रहेको नरुदेवीका परिवारको भनाइ छ ।
