धनगढी, मंसिर २३/ तीन वर्षअघि यहाँस्थित देउमाई नगरपालिकाको पानीटारका बारेमा अधिकांश जिल्लावासी नै बेखबर थिए । चियाबारी भन्नेवित्तिकै कन्याम, श्रीअन्तु मात्र बुझिने भएकाले पानीटार गुमनाम थियो । केही पर्यटकले इलाम चियाबारी र जस्वीरे घुम्ने गरे पनि पानीटारको नाम कहिल्यै आउँदैनथ्यो ।
स्थानीय तह र सम्बन्धित निकाय (पर्यटनसम्बद्ध) ले चासो नदिएकै कारण पानीटार ओझेलमा पर्यो तर अहिले पानीटारले पूरै काँचुली फेरेको छ । स्थानीयवासी मात्र होइन, अन्तर जिल्लाको पर्यटकको पनि नयाँ गन्तव्य बनेको छ पानीटार । कतै अग्लो र कतै होचो तर मिलेको चियाबारी यहाँको मुख्य आकर्षण हो ।
