काठमाडौं, चीनमा ४ महिनामा देखिएका संक्रमितको संख्या संसारमा एकै दिनमा बढ्यो । डिसेम्वरको अन्तिममा चीनको वुहान शहरबाट फैलन सुरू गरेको कोरोना भाइरसको संक्रमण तिब्ररूपमा बढेको छ ।
करिव ४ महिनाको अवधिमा चीनमा देखिएको संक्रमितको संख्या भन्दा विश्वमा पछिल्लो १ दिनमा संक्रमण देखिनेको संख्या बढी छ ।
चीनमा हालसम्म ८१ हजार ६ सय ३९ जना संक्रमित देखिएका छन् । पछिल्लो १ दिनमा चीनमा नयाँ संक्रमित देखिएका छैनन् । तर, विश्व भरमा भने पछिल्लो १ दिनमा ८२ हजार ४ सय २ जना संक्रमित बढेका छन् ।
हालसम्म संक्रमितको संख्या ११ लाख ९९ हजार ६४ पुगेको छ । संक्रमितमध्ये हालसम्म २ लाख ४६ हजार १ सय ३६ जना पूर्णरूपमा ठिक भएपनि ६४ हजार ६ सय ५० जनाको मृत्यु भएको छ ।
अहिले पनि कोरोना ठिक नभएका अर्थात संक्रमण देखिरहेका बिरामी ८ लाख ८८ हजार छन् ।
जसमध्ये ४२ हजार ३ सय २४ जना गम्भीर अवस्थामा छन् । युरोप र अमेरिकामा कोरोनाको संक्रमण तिब्ररूपमा देखिएको छ ।