काठमाडौं: नेपाल भारत सीमा सर्भे टोलीले गरेको सीमा रेखांकनको विरोध भएको छ। कञ्चनपुरका जनप्रतिनिधिहरुले आइतबार गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाउँदै रेखांकनको विरोध गरेका छन्।
सर्भे टोलीले जंगे पिल्लरलाई आधार नबनाइ स्ट्रिप नक्सा बनाएको र यसले सयौं हेक्टर नेपाली भूभाग भारततिर परेको भन्दै उनीहरुले ज्ञापनपत्र बुझाएका हुन।
ज्ञापनपत्रमा भनिएको छ, ‘भारतले अतिक्रमण गरेको भूमि नेपालको देखिने गरी स्थापित सीमा ९जंगे पिलर०हरुलाई साक्षी स्तम्भ र नेपालतर्फ रहेका साक्षी र सहायक स्तम्भलाई सीमाको मूल पिलर स्वीकार गरेर स्ट्रिप नक्सा तयार गरिएको पाइएको छ।’
जनप्रतिनिधीको टोलीबाट ज्ञापनपत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरमा देखिएको सीमा विवादबारे सरकार गम्भीर रहेको बताएका छन्। उनले नापी विभागका महानिर्देशकलाई बोलाएर आफूले तत्कालै जानकारी लिने बताएका छन्।
साढे पाँच दशकदेखि कञ्चनपुरको बेल्डाँडीमा बस्दै आएका स्थानीयको जमिन भारतमा पर्नपछि सीमा विवाद चुलिएको छ।