– सेवनकर्तामध्ये ३० प्रतिशत २० वर्ष मुनिका
– वार्षिक ३६ करोडको कारोबार पैसा कमाउने भन्दा पनि आफ्नै प्रयोगका लागि बढी ओसारपसार
कैलाली ।
गत वर्ष धनगढीस्थित उत्तर बेहडीका २७ वर्षीय विजय थापा साथी आशिष सेठी चिर्पट प्रहारबाट मारिए । राति अबेरसम्म उत्तर बेहडीमा निर्माणाधीन घरको छतमा बसेर थापा र सेठीले लागुऔषध सेवन गरेको अनुसन्धानबाट खुल्यो । नसामा लठ्ठिएपछि उनीहरूबीच मतभेद भयो । यसै क्रममा सेठीले थापाको हत्या गरे ।
कैलालीको धनगढीस्थित सन्देश नेपाल सुधार गृहमा रहेकाहरु मंगलबार होली खेल्दै । तस्बिर स् अर्जुनरकान्तिपुर
अर्को घटनामा अत्तरियामा खकुरी प्रहारबाट २० वर्षीय अरुण भट्टको हत्या भयो । प्रादेशिक महोत्सव हेरेर फर्किर्ने क्रममा साथीहरूबीच आपसमा विवाद बढ्दा उनी मारिएका थिए । भट्टको हत्या अभियोगमा उनकै उमेर समूहका सात जना युवा पक्राउ परेका थिए । पछिल्लो समय कैलालीमा अपराधका घटनामा वृद्धि भएको तथ्यांकले देखाउँछ । यस्ता घटनामा लागुऔषध सेवनलाई पनि प्रहरीले प्रमुख कारक मानेको छ ।
खुला सीमाना चुनौती
भारतसँगको खुला सीमानाको फाइदा उठाउँदै सीमापारिको बजार वनगाउँ, पलियालगायतबाट नेपालमा लागुऔषध ओसारपसार गर्नेहरूको समूह बढ्दै गएको प्रहरीको भनाइ छ । कैलालीका धनगढी, अत्तरियालगायत मुख्य बजारमा ठेलामा सामान बिक्री गर्ने व्यापारी तथा भारतीय नागरिकसमेत लागुऔषधको कारोबारमा संलग्न रहेको पाइएको प्रहरी अधिकृतहरू बताउँछन् । गत आइतबार साँझ अत्तरियामा ठेलामा होलीको सामान बेच्दै गरेका एक जना भारतीय नागरिक पक्राउ परे । उत्तर प्रदेशको लखिमपुर खिरी जिल्लाको पलिया घर भई हाल अत्तरिया नजिकै डेरा गरी बस्ने २१ वर्षीय किसन गुप्तासँग लागुऔषध रहेको पाइएपछि उनी पक्राउ परेका हुन् । मालाखेतीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्ट नेतृत्वको टोलीले उनको ठेलाबाट ६ सय ७० ग्राम खैरो हेरोइन बरामद गरेको थियो ।
३५ प्रतिशत लागूऔषध कारोबारका मुद्दा
‘धनगढीलगायत कैलालीका धेरै युवा लागुऔषधको कुलतमा फसेका छन्,’ नगरप्रमुख नृपबहादुर वड भन्छन्, ‘तत्काल प्रभावकारी कदम नचाल्ने हो भने समाजमा यसको नराम्रो असर पर्नेछ ।’ युवापुस्तालाई लागुऔषध सेवन तथा कारोबारमा नलाग्न सुधारका काम गरिए पनि थुनाबाट निस्केपछि पुनस् यसमै लाग्ने गरेको भेटिने गरेकोमा कैलाली प्रहरीका डिएसपी दक्षकुमार बस्नेतले चिन्ता जनाए । ‘समात्यो, केही दिन थुनामा बसेर छुट्छन् । फेरि पक्राउ पर्छन्,’ बस्नेतले भने, ‘यस्तै चक्र चलिरहेको छ ।’
कैलाली प्रहरीका अनुसार लागुऔषध सेवनकर्तामध्ये ३० प्रतिशत २० वर्ष मुनिका छन् । २० देखि ३५ वर्ष उमेर समूहका ४० प्रतिशत छन् । ३५ देखि ४५ वर्ष उमेर समूहका २० प्रतिशत यसमा संलग्न रहेको पाइएको छ । लागुऔषध प्रयोगकर्तामा विद्यार्थी बढी छन् । साथीको संगत, बेरोजगारी, नैराश्यलगायतका कारण युवाहरू दुर्व्यसनीमा फस्दै गएको उनको बुझाइ छ । ‘दुर्व्यसनीले यहाँको समाज बर्बाद हुन थाल्यो,’ उनी भन्छन्, ‘हामीकहाँ आउने मुद्दामध्ये ३५ प्रतिशत लागूऔषध कारोबारका छन् ।’ कैलाली प्रहरीले सरदर दैनिक एकजना दुर्व्यसनीलाई पक्राउ गरी मुद्दा चलाउने गरेको बस्नेत बताउँछन् ।
चालू आर्थिक वर्षको ७ महिनामा कैलाली प्रहरीले एक सय ९२ जनालाई पक्राउ गरेको छ । तीमध्ये ६९ जनामाथि प्रहरीले मुद्दा चलाएको छ । ‘पक्राउ परेकामध्ये अधिकांश किशोरकिशोरी छन्,’ उनले भने । उनका अनुसार जिल्लामा लागुऔषध कारोबारीको संख्या बर्सेनि बढ्दै गएको छ । २०७४र०७५ मा एक सय आठ जनालाई पक्राउ गरी ७१ जनालाई मुद्दा चलाइएको थियो । गत वर्ष पक्राउ पर्ने बढेर एक सय २७ जना पुग्यो । ८७ जनालाई मुद्दा चलाइयो । हत्या, चोरी, झगडालगायत सामाजिक अपराधका पछाडि लागुऔषध पनि एक कारक रहने गरेको डिएसपी बस्नेत बताउँछन् । ‘सामाजिक अपराधका अधिकांश घटनामा लागुऔषध प्रयोगकर्ताको संलग्न रहेको देखिन्छ,’ उनले भने ।
बरामद हुने परिमाण बढ्दो
लागुऔषध सेवनकर्ता र कारोबारीबाट प्रहरीले चरेस, गाँजा, ब्राउनसुगर, नाइट्रभेट ट्याब्लेट, स्पास्मोप्रक्सोभन, ट्रमाडोल, कोरेक्स, फेनारगनलगायत पक्राउ गर्ने गरेको छ । आव २०७४र०७५ मा जिल्लामा ८७ किलो चरेस, आठ सय ४० ट्याब्लेट नाइट्रोभेट, दुई सय ३९ ग्राम ब्राउनसुगर बरामद भएको थियो । गत आवमा प्रहरीले ११ सय थान नाइट्राभेट ट्याब्लेट, चरेस र गाँजा ४र४ किलो, ३७ हजार ६ सय ट्याब्लेट फेनारगन, ट्रमाडोललगायत लागुऔषध बरामद गरेको छ ।
लागऔषधको प्रयोगकर्ता बढ्न नदिन र आपूर्ति नियन्त्रणमा साझा प्रयास हुनुपर्ने प्रहरी बताउँछ । ‘खुला सिमाना भएकाले भनेजस्तो सहज छैन,’ डिएसपी बस्नेत भन्छन्, ‘सुरक्षाकर्मी, समुदाय, स्थानीय तह र प्रदेश सरकारले संयुक्त प्रयास सुरु गर्न आवश्यक छ ।’ अभिभावकले आफ्ना छोराछोरीमाथि निगरानी गर्न जरुरी रहेको उनले औंल्याए । ‘छोराछोरीको संगत र व्यवहारमा ख्याल नगर्ने अभिभावकहरूले पछुताउनु पर्ने अवस्था छ,’ उनले भने ।
तीन हजार लागुऔषध प्रयोगकर्ता
गत साता गृह मन्त्रालयको लागुऔषध शाखाले धनगढीमा आयोजना गरेको अन्तरक्रियामा प्रहरीले कैलालीमा वार्षिक ३६ करोड रुपैयाँ बराबरको लागऔषध सामग्री भित्रिने गरेको विवरण प्रस्तुत गरेको थियो । कैलाली प्रहरीका अनुसार जिल्लामा लागुऔषध प्रयोगकर्ताको संख्या तीन हजार जनाभन्दा बढी छ । हरेक वर्ष यो संख्या बढेको बढ्यै छ । एकजना सेवनकर्ताले एकपटक सेवनका लागि दुई हजार रुपैयाँसम्म खर्च गर्ने गरेका छन् । चालु आवमा लागुपदार्थ सेवनका कारण दुई जनाको मुत्यु भएको प्रहरीले बताएको छ । पुनस्स्थापना केन्द्र सञ्चालकहरूको अनुभवमा यहाँका अधिकांश दुर्व्यसनीहरू पैसा कमाउने भन्दा पनि आफ्नै प्रयोगका लागि ओसारपसारमा संलग्न छन् ।
ओसारपसारमा किशोरीको प्रयोग धेरै
राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम फाउन्डेसनका सचिव विनय शाह पछिल्लो समय बजार क्षेत्रका भन्दा सीमानजिक र ग्रामिण भेगका युवाहरू दुर्व्यव्यसनीमा फस्ने क्रम बढेको बताउँछन् । सहज उपलब्धता र सचेतनाको कमीले यो समस्या विकराल बन्दै गएको उनको भनाइ छ । ‘पछिल्लो समयमा लागुऔषधको दुर्व्यसनीमा फस्नेहरूमध्ये किशोरीहरूको संख्या अकल्पनीय रुपमा बढिरहेको छ । यस पाटोमा ध्यानै पुर्याउन सकिएको छैन,’ उनले भने, ‘ओसारपसारमा संलग्न रहेकाको संख्यामा किशोरीहरू धेरै छन् ।’ उनले सीमा वरपरका जनजाति समूदायका किशोरकिशोरीहरू बढी मात्रामा सेवान र ओसारपसारमा संलग्न रहेको बताए । प्रहरीको बुझाइ पनि त्यही छ । सन्देश नेपाल नामक सुधार गृहका सञ्चालक निरज चटौतले धनगढीमा लागुऔषध दुर्व्यसनीलाई लिएर निगरानी गर्ने संयन्त्र नभएकोमा चिन्ता व्यक्त गरे । ‘महिलाहरूको अवस्थाका बारेमा कसैको ध्यानै गएको छैन,’ चटौतले भने, ‘निगरानी गर्ने संयन्त्र नै भएन ।’
‘प्रदेश सरकारसँग समन्वय भइरहेको छ’
दुर्व्यसनमा फस्दै गएकोहरूको संख्या दिनदिनै बढिरहेको भए पनि सम्बद्ध निकायहरूले रोकथामका लागि ठोस योजना बनाएका छैनन् । प्रहरीले पनि लागुपदार्थ कारोबारीमा संलग्नलाई पक्राउ गरी मुद्दा चलाउने बाहेक रोकथामका प्रयासहरू गरेको छैन । ‘हामी समात्छौं, कानुनी प्रकृयापछि छुट्छन् र फेरि समातिन्छन्,’ डिएसपी बस्नेत भन्छन्, ‘रोकथामका प्रयासहरू हुन जरुरी भयो ।’ धनगढीका नगरप्रमुख वड यहाँका मुख्यमन्त्री र प्रदेश सरकारका मन्त्रीहरूसँग त्यस सम्बन्धमा छलफल गरेको बताउँछन् । उनले भने, ‘लागुऔषध दुर्व्यसनी रोक्न स्थानीय तह र प्रदेश मिलेर ठोस कार्यक्रम गरौं भन्ने प्रस्ताव गरेको छु । साथै सरकारी पुनस्स्थापना केन्द्रको समेत आवश्यकता महसुस भएकाले त्यसतर्फ पनि विचार गर्न जरुरी भएको निष्कर्ष निकालेका छौं ।’ कैलालीमा सात वटा लागुऔषध पुनस्स्थापना केन्द्र ९सुधार गृह० छन् । तर, लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएकोले यस्ता केन्द्रहरूको संख्या थप्नुपर्ने अवस्था छ । केन्द्रमा १६ देखि ६० वर्ष उमेरकालाई राखिएको छ ।
धनगढीमा सन्देश नेपाल, रिचमन्ड फेलोसिप नेपाल र टीम च्यालेन्ज तथा अत्तरियामा उग्रतारा पुनस्स्थापना केन्द्र सञ्चालित छ । सन्देश नेपालमा मात्रै ३८ जनालाई राखिएको सञ्चालक चटौतले जानकारी दिए । उनले सरोकारवालाहरूले वर्षको एक दिन लागुऔषध विरुद्धको दिवस मनाएर वर्षभरि चुप बस्ने प्रवृत्तिले अवस्थामा सुधार हुन नसकेको औंल्याए । समुदाय र अभिभावकबीच विभिन्न अभियानहरू सञ्चालन गर्न नसके अहिलेको पुस्ता बर्बाद हुने क्रम बढेर जाने उनको ठम्याइ छ ।
टिकापुरमा रोकथाम प्रयास
लागुऔषधबाट प्रभावित कैलालीको अर्को सहर हो टीकापुर । युवापुस्ता कुलतमा फस्ने क्रम बढेपछि दुई वर्षअघिदेखि टीकापुर प्रहरीले समुदायसँग मिलेर रोकथामका प्रयासहरू गर्दै आएको छ । ती प्रयासले सकारात्मक परिणाम ल्याएको स्थानीय बताउँछन् ।
लागुऔषध दुर्व्यसन, ओसारपसार तथा बेचविखन नियन्त्रण गर्न टीकापुर प्रहरीले विद्यार्थी, शिक्षक, अभिभावक र नागरिक समाजका प्रतिनिधिलाई नै सक्रिय गराउने रणनीति कार्यान्वयन गर्दै आएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी इन्चार्ज ९डिएसपी० को मोबाइल नम्बर नगरका हरेक शिक्षक, विद्यार्थी र अभिभावकलाई उपलब्ध गराइएको छ । सेवन तथा ओसारसार नगर्न सचेतनाका कार्यक्रम तीब्र पार्नुका साथै स्थानीयले लागुऔषध सेवनकर्ता र बेचविखन गर्नेका बारेमा सिधै प्रहरीलाई जानकारी दिनसक्ने व्यवस्था मिलाएको छ ।
टीकापुरका डिएसपी मनोहरप्रसाद भट्टका अनुसार पछिल्लो ९ महिनामा विद्यार्थी, अभिभावक र शिक्षक गरी करिब १७ हजारलाई सचेतना कार्यक्रममा समेटिएको छ । यसले केही सुधारका लक्षणहरू देखिन थालेको उनी दाबी गर्छन् । उनले भने, ‘प्रहरीलाई सूचना आएको १० मिनेटभित्र सेवा दिने योजनामा काम गर्दै आएका छौं ।’
- कान्तिपुर बाट