धनगढी, फागुन १०- होटल व्यवसायी संघ कैलालीको आयोजनामा फागुन १४ गतेदेखि २० गते सम्म धनगढीमा हुने खाना महोत्सवमा बार टेन्डर्स कला देखाईने भएको छ । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक हुन लागेको खाना महोत्सवमा पोखराको चर्चित बार टेन्डर्स कला देखाईने भएको हो ।

स्कुल अफ बार टेन्डर्स पोखरासँग होटल व्यवसायी संघ कैलालीले बार टेन्डर्स कला देखाउने विषयमा सम्झौता समेत गरेको छ । होटल व्यवसायी संघका तर्फबाट अध्यक्ष कलम बम र स्कुल अफ बार टेन्डर्स पोखराका संस्थापक शैलेश शाहीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बार टेन्डर्स कला देखाउनका लागि अन्तराष्ट्रिय स्तरका प्रशिक्षक धनगढी आउने होटल व्यवसायी संघका महासचिव आभेष चन्दले जानकारी दिनुभयो । बार टेन्डर्स कला देखाउन धनगढी आउन लागेका प्रशिक्षक गोविन्द थापा एसियास्तरको बार टेन्डर्स कार्यक्रममा रनरअप हुनु भएको थियो ।
सुदूरपश्चिमाञ्चल साहित्य समाजले आयोजना गर्न लागेको विश्व नेपाली साहित्य सम्मेलनसँग सहकार्य गरेर धनगढी स्थित खुला मञ्चमा खाना महोत्सव आयोजना गर्न लागिएको होटल संघ कैलालीका अध्यक्ष कलम बमले जानकारी दिनुभयो । महोत्सवमा २५ प्रदर्शनी कक्षमा स्थानीय परिकार मात्र रहने छन् । एक हजार लिटरको भाडामा फाणो पकाउने तयारी समेत गरिएको छ ।

सोही अवधिमा धनगढीमा हुने विश्व नेपाली साहित्य सम्मेलनको तयारी तीव्र पारिएको छ । सप्ताहव्यापी विश्व नेपाली साहित्य सम्मेलनमा साहित्यकारको सहभागिता रहने आयोजक सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशीले जानकारी दिनुभयो । सुदूरपश्चिमको कला र संस्कृतिका बारेमा सबैलाई जानकार गराउन र अन्य ठाउँको कला र संस्कृतिबारे जानकारी लिन महोत्सवको आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । महोत्सवमा देशभित्रका २०० बढी साहित्यकारको सहभागिता रहने जनाइएको छ । साथै भारतको सिलगुडी, दार्जिलिङ, सिक्किम, असाम, मेघालय, मणिपुर, भुटान, बर्मा, अमेरिका, बङ्गलादेश लगायतका देशका साहित्यकार आउने बताईएको छ ।
होटल व्यवसायी संघ कैलालीले धनगढीमा सुदूरपश्चिमका खानाका परिकारहरूको प्रबद्र्धन गर्न ‘सुदूरपश्चिम खाना महोत्सव’ गर्न लागेको हो । विश्वभरका साहित्यकारहरूको जमघट भएको बेला आयोजना हुने खाना महोत्सवले सुदूरपश्चिम प्रदेशमा पर्यटक भित्र्याउन मद्दत पुग्ने विश्वास गरिएको होटल व्यवसायी संघका अध्यक्ष बमले बताउनुभयो । उहाँले साहित्य सम्मेलन र खाना महोत्सवले सुदूरपश्चिम प्रदेशमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन समेत सहयोग गर्ने बताउनुभयो ।
