काठमाडौं । लोक दोहोरी गायिका स्मृति गौतमले सर्वोत्कृष्ट काठे लोक दोहोरी गायिकाबाट ज्योति फिल्म अवार्ड हात पारेकी छिन् । गायिका गौतमको स्वरमा बजारमा ल्याइएको गीत ‘रातो सारी पानबुट्टे चोलि…’ बोलको काठे गीतबाट उनले अवार्ड हात पारेकी हुन् । कार्यक्रममा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरबाट उनलाई अवार्ड प्रदान गरिएको थियो । ज्योति फिल्म्स प्रोडक्सनले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमकाबीच उनलाई अवार्ड दिइएको हो । गीत र कलाकारको प्रोत्साहनका लागि यो अवार्डको आयोजना गरिएको लागेको ज्योति फिल्म्स प्रोडक्सनले बताएको छ ।
त्यस्तै, अवार्ड हात पारेसंगै आफ्नो मिहेनत र कलाको सम्मान भएको अनुभूति आफूलाई भएको गायिका गौतम बताउँछिन् । उनले भनिन्,‘आफूले गरेको मिहेनतबाटनै आज म यहाँसम्म आइपुगेको छु । काठे गीतको प्रचार र प्रवर्धनमा कमी हुँदै गइरहेको समयमा आफ्नो कलाको सम्मानस्वरुप अवार्ड पाउँदा निकै खुसी भएको छु ।’ आफूलाई यो अवस्थामा ल्याउन सहयोग गर्ने सबैलाई उनले धन्यवाद व्यक्त गरेकी छिन् ।
‘मलाई माया गरेर यहाँसम्म आउन साथ दिने सबैलाई धन्यवाद दिन चाहन्छु । पान बुट्टे चोलीको सम्पूर्ण युनिटलाई हृदयदेखि पुनः धन्यवाद दिन चाहन्छु ।’ उनले भनिन् । गायिका गौतम लामो समयदेखि लोक तथा काठे क्षेत्रका मौलिक गीतका साथ उपस्थित हुने गरेकी छिन् । अवार्डमा १ वैशाख २०७५ देखि २० पुससम्म बजारमा आएका गीतसंगीतसँग सम्बद्ध ६० विधामा उत्कृष्ट हुनेलाई सम्मान गरिएको हो ।