धनगढीबाट गाई तस्करी भईरहेको आरोप लागेको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर १८ डिपो बजार क्षेत्रबाट गाई तस्करी भईरहेको आरोप लागेको हो। स्थानीयले पूर्वी नेपालबाट भारत हुँदै अन्य देशमा तस्करीको लागि गाई लगिएको आरोप लगाएका छन्।
डिपो बजार र पच्चिसघर क्षेत्रबाट आज मात्रै लु २ क ७२५ लगायतका ७ वटा ट्रकमा गाई लगिएको स्थानीयले बताएका छन्। यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले आन्तरिक उपयोगका लागि गाईगोरु ओसारपसारमा रोक लगाउन नमिल्ने बताए। उनले चेकजाँच गर्दा सबै कागजात भेटिएको समेत जानकारी दिए।
सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउटपोष्ट फुलवारीका सशस्त्र प्रहरी निरिक्षक जय महतले गाई तस्करीका लागि नभई पालनका लागि लग्न थालिएको बताए। उनका अनुसार मकवानपुरको हेटौडा उप–महानगरपालिका वडा नम्वर १७ मा रहेको डिएम एकिकृत कृषि फर्मलाई चौपाया लैजान धनगढी उप–महानगरपालिकाले नै अनुमती दिएको छ। उनीहरुसंग भेटेरिनरी प्रमाणपत्र पनि छ भने फर्म दर्ता प्रमाणपत्र पनि रहेको छ।
यता धनगढी उप–महानगरपालिका वडा नम्वर १८ का वडा अध्यक्ष मुरारी अधिकारीले भने गाई हेटौडा नभई झापा लग्न लागिएको बताए। उनले झापाको सरस्वती गाई फर्मको लागि ४ सय वटा गाई र केही गोरु लैजान दिने सहमती भए अनुसार लग्न थालिएको बताए।
