हेटौंडा — मकवानपुरको थाहा नगरपालिका, सिमभञ्ज्याङमा रहेको पानोरमा रिसोर्टमा अचेत अवस्थामा भेटिएका ८ भारतीय नागरिकको उपचारको क्रममा काठमाडौंको ह्याम्स अस्पतालमा मृत्यु भएको छ । बिहान अचेत अवस्थामा भेटिएपछि हेलिकप्टरबाट उद्धार गरी काठमाडौं पुर्याइए पनि उनीहरुलाई अस्पतालले मृत घोषित गरेको छ ।
दुई कोठा लिएर रिसोर्टमा बसेकाभारतका केरालाका ३८ वर्षीय प्रविणकृष्ण नारायण, ३५ वर्षीया शारण्य शशी, ३४ वर्षीय रञ्जितकुमार एपी र इन्द्र लक्ष्मी, ९ वर्षीया श्री भद्र, सात वर्षीया आर्चा प्रविण, ५ वर्षीय अभिन शौरणय नायर, २ वर्षीय बैष्णव रञ्जितमंगलबार बिहान बेहोस अवस्थामा फेला परेका थिए।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुशीलसिंह राठौरका अनुसारअचेत रहेका उनीहरुको निधन भएको जानकारी दिएका छन्। दामनमा अत्याधिक चिसो रहेको र कोठा तातो बनाउनका लागि ग्यास हिटर बालेका कारण निसासिएर उनीहरुको मृत्यु भएको आशंका प्रहरीले गरेको छ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले दिएको जानकारी अनुसार उनीहरु सोमबार राति करिब दश बजे होटलमा पुगेका थिए । उनीहरु १५ जनाको टोली बनाएर भारतको केरलाबाट घुम्नका लागि नेपाल आएका थिए । उनीहरु १५ जना बा।३ क ३७८८ नम्बरको बसमा थाहानगर क्षेत्रमा पुगेका थिए ।
‘केरलाबाट घुम्नका लागि छरछिमेकीहरु आएका रहेछन् । उनीहरुसँगै आएको अन्य सातजनाभने बसबाट काठमाडौं गएका छन्,’ उनले भने ।