एजेन्सी । ब्राजिलको सीमा नजिक पाराग्वेको एक जेलबाट आइतबार निक्कै खतरनाक ७६ जना कैदी भागेका छन् । यी कैदीहरुमध्ये केही नशालु पदार्थ तथा हातहतियारको तस्करी गर्ने ब्राजिलको गिरोहका सदस्य रहेको बिबीसीले जनाएको छ । प्रहरी प्रवक्ता एलीना एन्द्रादाका अनुसार पेड्रो जुआन क्याबलेरो सहरको जेलमा कैदीहरुले एक सुरुङ बनाएको थिए । उनीहरु यही सुरुङबाट भाग्न सफल भएको प्रहरी प्रवक्ताको भनाई छ । पाराग्वे र ब्राजिल दुवै देशका कैदीहरु राखिएको यस जेलबाट कम्तिमा ७६ कैदी भाग्न सफल भएको अधिकारीहरु बताएका छन्, जसमा ४० जना ब्राजिलका र ३६ जना पाराग्वेका नागरिक छन् ।
पाराग्वेका कानुन तथा न्यायमन्त्री सेसिलिया पेरेजले यस घटनाको कडा निन्दा गर्दै सुरुङ बनाउनमा थुप्रै साताको समय खर्चेको हुनसक्ने संवाददातासँग बताएकी छिन् । जेल संरक्षकलाई बर्खास्त गरिएको र केही सुरक्षाकर्मीलाई पनि गिरफ्तार गरिएको बताइएको छ । ‘भाग्ने योजना पहिल्यैबाट गरिँदै थियो र एजेन्टलाई ८० हजार डलर अफर गरिएको अधिकारीहरुले सूचना पाएका थिए । स्पष्ट छ कि यो एक भ्रष्टाचार हो,’ कानुनन्त्रीले भनिन् । जेलबाट भागेका धेरैजसो कैदीहरु ‘फर्स्ट क्यापिटल कमाण्ड’ गिरोहका सदस्य रहेका छन् । यो गिरोह ब्राजिलको सबैभन्दा खतरनाक गिरोहमध्ये एक हो । पाराग्वे सरकारले यस घटनाबारे अनुसन्धान थालेको बिबीसीले जनाएको छ ।