एजेन्सी । फिलिपिन्सको राजधानी मनिलाबाट ७० किलोमिटर दक्षिणमा रहेको टाल ज्वालामुखीबाट आइतबारदेखि नै लाभा निस्किन थालेको थियो । सोमबार पनि बिहानैदेखि सक्रिय ज्वालामुखी पर्वतबाट लाभा निस्किन थालेपछि अधिकारीहरूले केही घण्टा वा दिनभित्र डरलाग्दो विस्फोटन हुन सक्ने चेतावनी दिएका छन् ।

ज्वालामुखीबाट पहिले खरानीको एउटा विशाल थुप्रो निस्किएपछि उक्त क्षेत्रबाट झन्डै आठ हजार मानिसलाई अन्यत्र सारिइसकएिको छ । लाभाको फोहरा निस्किँदा चट्याङ परेको र बिजुली चम्किएको भयानक दृश्य भएको तस्विर बाहिर आएका छन् । ज्वालामुखीबाट निस्किएको खरानीले वरपरका सहर तथा गाउँलाई पुरेको पनि बताइएको छ । टाल फिलिपिन्सको दोस्रो सक्रिय ज्वालामुखी हो ।

एउटा विशाल तालको बीचमा अवस्थित द्वीपमा भएको उक्त ज्वालामुखी पर्वतलाई विश्वकै साना ज्वालामुखीमध्ये मानिन्छ । विगत ४५० वर्षमा त्यो ज्वालामुखी कम्तीमा ३४ चोटि विस्फोटन भएको अभिलेख छ । ज्वालामुखी तथा भूकम्प हेर्ने फिलिपिन्सको निकाय फिभोल्क्सका अनुसार स्थानीय समयानुसार टाल ज्वालामुखी बिहान २ः४९ देखि ४ः२८ सम्ममा विस्फोटन हुने स्थितिमा पुग्यो ।

तर फिभोल्क्सले विस्फोटनको चेतावनीको तह बढाएर तीनबाट चारमा पुर्याएको छ। चेतावनीको अधिकतम तह पाँच हुन्छ । अधिकारीहरूले ज्वालामुखीका कारण सुनामी आउन सक्ने चेतावनी पनि दिएका छन् ।


तस्विर श्रोत : बिबीसी