एजेन्सी । पाकिस्तानबाट प्रकाशित हुने उर्दू अखबारहरुमा यस साता पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलाभल भुट्टोको प्रधानमन्त्री इमरान खानमाथि हमला, पाकिस्तानी विदेशमन्त्रीको श्रीलंका भ्रमण, नवाज शरीफआदी बिषय चर्चामा आए ।
पाकिस्तान र चीनका अधिकारीले एकै दिन श्रीलंकाका नयाँ राष्ट्रपति गोटाबाया राजपक्षेसँग भेटवार्ता गरे, जसबाट भारत अशान्त बनेको छ पाकिस्तानी अखबारले जनाएका छन् । पाकिस्तानी अखबार एक्सप्रेसमा छापिएको खबरअनुसार, पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरेशी र चिनियाँ अधिकारी एकै दिन कोलम्बो पुगे । यो एक संयोग मात्रै हो वा दुवैले मिलेर यस्तो रणनीति बनाए भन्ने अनुमान लगाउन नसकिने अखबारले बताएको छ । पाकिस्तानी र चिनियाँ अधिकारीको श्रीलंका भ्रमणले श्रीलंकासँग आफ्नो सम्बन्धलाई निक्कै महत्व दिएको संकेत गरेको छ ।
पाकिस्तान र चीन दुवैले राष्ट्रपति राजपक्षेलाई आ–आफ्नो देशमा भ्रमणको निम्तो दिएको पनि अखबारले जनाएको छ । पाकिस्तान र चीनको यस कूटनीतिक पहलबाट भारत अशान्त बनेको अखबारको ठहर छ । किनकि राजपक्षे परिवारको पाकिस्तान र चीनसँगको सम्बन्ध राम्रो रहेको भारतलाई राम्ररी थाहा छ ।
भ्रमणका दौरान पाकिस्तानी विदेशमन्त्री कुरेशीले श्रीलंकाली क्रिकेट टिमको पाकिस्तान भ्रमणपछि नै पाकिस्तानलाई अन्तराष्ट्रिय क्रिकेटमा फर्कन सफल भएको बताएका थिए । यसैगरी, पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरिफ थप उपचारका लागि अमेरिका जान पर्न सक्ने बताइएको छ । यतिबेला शरिफ उपचारका लागि लण्डनमा छन् । अखबार जंगका अनुसार नवाज शरिफको स्वास्थ्यमा खासै सुधकार नभई रहेको परिवारजनको भनाई छ ।