सर्वोच्च अदालतले संविधानको व्यवस्थामा अप्रत्यक्ष शब्दावलीको प्रयोग गरी स्थानीय तहका पदाधिकारीलाई पारिश्रमिक उपलब्ध गराउनु संविधानमाथिको जालझेल भएको व्याख्या गरेको छ।
पदाधिकारीको पारिश्रमिक खारेज सम्बन्धी कात्तिक १ गतेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले संविधानको परिकल्पना विपरीत पारिश्रमिक दिनेगरी प्रदेशसभाहरुले बनाएका कानुनले बैधता नपाउने पनि ठहर गरेको छ। अप्रत्यक्ष शब्दावली तथा भाषाको प्रयोग गरी पारिश्रमिक उपलब्ध नगराउन पनि पूर्णपाठमा उल्लेख छ।
प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबरा तथा न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले संविधानको धारा २२०९८० र २२७ ले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुलाई पारिश्रमिक वा तलब दिन बन्देज गरको पनि ठहर गरेको छ। सर्वोच्चले प्रदेश १ बाहेकका अन्य छ वटा प्रदेशको पारिश्रमिकसम्बन्धी धारा बदर हुने ठहर समेत गरेको छ।
सर्वोच्चले पदाधिकारीलाई पारिश्रमिक तथा मासिक तलको सुविधामा बन्देज लगाएको व्याख्या गरे पनि सुविधा दिन भने मिल्ने ठहर गरेको छ । प्रदेश कानुन अनुसार स्थानीय तहका पदाधिकारी तथा सदस्यले निर्वाह गर्नुपर्ने भूमिकालाई ध्यानमा राखी विभिन्न शीर्षकमा सुविधा दिन भने संविधानले रोक नलगाएको व्याख्यामा उल्लेख छ।
पूर्णपाठमा सर्वोच्चले सुविधा उपलब्ध गराउँदा निश्चित शीर्षक भने खुल्नुपर्ने पनि व्याख्या गरेको छ।
स्थानीय तहका पदाधिकारी तथा सदस्यले पारिश्रमिक लिन पाउने संवैधानिक प्रावधान नरहेकाले अप्रत्यक्ष तवरले पारिश्रमिकको व्यवस्था नगर्न पनि फैसलामा भनिएको छ। अप्रत्यक्ष भाषाको प्रयोग गरी सुविधालाई पारिश्रमिकका रुपमा लिन पनि संविधानमाथिको जालसाजी हुने अदालतको ठहर छ।
सर्वोच्चले कात्तिक १ गते प्रदेशसभाले जारी गरेको ऐनको दफा ३ अन्तर्गतको सुविधा सम्बन्धी अनुसूची बदर गरेको थियो। प्रदेश ५ ले बनाएको ऐनमा पारिश्रमिक भन्ने शब्द समेत उल्लेख भएकोमा सो शब्द समेत बदर गरिदिएको थियो उक्त फैसलाको पूर्णपाठ सर्वोच्चले आइतबार सार्वजनिक गरेको हो।
पुर्ण पाठ हेर्न तलको लिङ्कमा जानुहोस्।
https://drive.google.com/file/d/1AF4lnxbZhldv_0CIEmUKuSajJPCb4t9w/view