धनगढी, ७ मसिंर ।
कैलाली, कञ्चनपुरमा गरिमा धान नपसाए पनि दुवै जिल्लामा धान उत्पादन घटेको छैन । नक्कली गरिमा धानका कारण यो वर्ष धान उत्पादन घट्ने अनुमान गरिएको थियो । तर, दुवै जिल्लामा गतवर्षकै हाराहारीमा धान उत्पादन भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जानकारी दिएको छ । गत वर्ष कैलालीमा तीन लाख ५५ हजार मेट्रिकटन र कञ्चनपुरमा एक लाख १७ हजार आठ सय मेट्रिकटन धान उत्पादन भएको थियो ।
यो वर्ष पनि दुवै जिल्लामा गरेर करिब चार लाख ७२ हजार ८०० मेट्रिकटन हाराहारीमा नै धान उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ । कैलालीमा ७१ हजार हेक्टर क्षेत्रफल र कञ्चनपुरमा ३८ हजार हेक्टर क्षेत्रफल जमिनमा धान खेती भएको थियो । दुवै जिल्लाको औसत उत्पादकत्व प्रति हेक्टर जमिनमा क्रमशः पाँच प्रतिशत र ३।१ प्रतिशत रहेको छ ।
‘क्रप कटिङको प्रारम्भिक विवरण अनुसार दुवै जिल्लामा धान उत्पादन घटेको देखिएको छैन’, कृषि ज्ञान केन्द्रका सूचना अधिकारी रमेश चन्द्र भट्टले भने–‘औसत उत्पादन गतवर्षकै हाराहारीमा रहेको छ ।’ धान उत्पादनमा कमी नभए पनि यकिन तथ्याङ्क निकाल्नलाई भने अझै केही दिन लाग्ने उहाँको भनाइ छ । ‘हामीले विवरण कम्पाइल गरिरहेका छौं’, उनले भने–‘त्यसैले अहिलेसम्म औसत तथ्याङ्क मात्रै छ ।’
गरिमा धान लगाएका किसानलाई व्यक्तिगत रुपमा धेरै नोक्सान भए पनि दुवै जिल्लामा समग्र धान उत्पादनको अवस्था राम्रो नै रहेको कृषि ज्ञान केन्द्रको ठहर छ । यो वर्ष बाढी नआउँदा खल्ला र पानी जम्ने खेतमा पनि धान उत्पादन भएको थियो । यसैगरी, किसानले विभिन्न प्रजातिको उन्नत धानको खेती गर्नुका साथै, उपयुक्त तरिकाले मलखाद हालेकाले पनि उत्पादन राम्रो भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
गरिमा धान खेती नपसाए पनि अरु जातको धानको उत्पादन धेरै राम्रो भएको सूचना अधिकारी भट्टको भनाइ छ । ‘एक लाख आठ हजार ३०० हेक्टर जमिनमा धान खेती राम्रो थियो’, उनले भने–‘सात सय हेक्टर जमिनमा लगाइएको गरिमा धान खेती भने पसाएन ।’
कैलाली, कञ्चनपुरमा उत्पादन भएको धानले सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लालाई पनि धान्ने गरेको छ । प्रदेशको पहाडी सात जिल्ला पनि तराईकै उत्पादनमा निर्भर रहेको छ । पहाडी जिल्लामा पर्याप्त मात्रामा उत्पादन नहुने गरेका कारण तराईबाटै खाद्यान्न आयात गर्ने गरिएको छ । सबैभन्दा बढी बाजुरा, बझाङ, बैतडी, दार्चुला, अछाममा तराईबाट खाद्यान्न जाने गरेको छ ।
करिब छ करोड रुपियाँ बराबर नोक्सान
धान उत्पादनमा उर्वर जिल्लाको रुपमा मानिने कैलाली, कञ्चनपुरमा गरिमा धान नपसाएपछि करिब छ करोड रुपियाँ बराबरको आर्थिक नोक्सान भएको कृषि ज्ञान केन्द्रको ठहर छ । दुवै जिल्लामा एक हजार ७०० जना किसानले गरिमा धानको खेती गरेका थिए । दुवै जिल्ला सात सय हेक्टर जमिनमा लगाइएको गरिमा धान पसाएन । गरिमा धानको औसत उत्पादकत्व प्रति हेक्टर ३।१ प्रतिशत मानेमा छ करोड रुपियाँ बराबरको आर्थिक नोक्सान भएको सूचना अधिकारी भट्टको भनाइ छ ।
कृषि ज्ञान केन्द्रले गरिमा धान खेती गर्ने दुवै जिल्लाका किसानको सङ्ख्या, जग्गाको क्षेत्रफल सङ्कलन गरी सम्पूर्ण विवरण मन्त्रालयमा पठाइसकेको छ । कानूनी प्रक्रिया अनुसार कारबाहीको कार्यलाई अगाडि बढाउनका लागि केन्द्रमा छलफल भइरहेको भट्टले बताए । ‘किसानलाई के कसरी क्षतिपूर्ति उपलब्ध हुने त्यसको अझै निर्णय भइसकेको छैन’, उनले भने ।
गरिमा धान काटेमा क्षतिपूर्ति नपाइने डरले कतिपय किसानले अझै पनि गरिमा धान काटेका छैनन् । कतिपयले गहुँ सिँचाइको कार्य सुरु गरिसक्दासम्म किसानले लगाएको गरिमा धान अझै पाकेको छैन । थोरै मात्रामा पसाएको गरिमा धान अब पाक्ने क्रममा रहेको छ । यद्यपि, गरिमाको आश गर्दा किसानलाई गहुँ छर्न ढिलो भइरहेको छ ।
क्यामोमाइल तेल बिक्री भएन
क्यामोमाइलको तेल बिक्री नहुँदा कञ्चनपुरका किसान समस्यामा परेका छन् । बजार मूल्य नपाउँदा किसानले तेल बिक्री गर्न नपाएका हुन् । क्यामोमाइल खेती गरेका किसानले उत्पादन गरेको २५१ किलो सुगन्धित तेल बिक्री हुन सकेको छैन । जसको बजार मूल्य एक करोड २५ लाख ५० हजार रहेको छ । क्यामोमाइल प्रशोधन गरी तयार गरिएको सुगन्धित तेल प्रतिकिलो बजारमा रु ५० हजार बढीमा बिक्री हुने गरेको छ ।
यस वर्ष तेल खरिद गर्ने व्यापारी नआउँदा तेल बेच्न नपाएको क्यामोमाइल खेतीमा संलग्न शुक्लाफाँटा नगरपालिका ६ कसरौलका किसान बालाराम घिमिरेले बताए । तीन वर्षदेखि क्यमोमाइल खेती गर्दै आएका घिमिरेले तीन कठ्ठा जग्गामा एक किलो सुगन्धित तेल उत्पादन गरेका छन् ।
गत वर्ष क्यामोमाईलको प्रशोधित सुगन्धित तेल किसानले रु ५५ हजार प्रति किलोका दरले बिक्री गरेका थिए । शुक्लाफाँटा नगरपालीकाको कसरौल, बेलडाँडी, सिमलफाँटा र जुडाका गरी एक सय २३ जना किसानले एक सय २० किलो प्रशोधित सुगन्धित तेल उत्पादन गरेका छन् । जसको बजार मूल्य रु ६० लाख रहेको छ ।