झापा २६ कार्तिक- विभागीय टोली त्रिभुवन आर्मी क्लब अन्नपूर्ण हाम्रो अन्तर्रा्ष्ट्रिय गोल्डकपको च्याम्पियन बनेको छ। झापाको डोमालाल राजवंशी रंगशालामा सोमबार भएको फाइनल खेलमा आर्मीले चर्च ब्वाइज युनाइटेडलाई २–० गोलले हरायो।
आर्मीको जितमा कप्तान टेकबहादुर बुढाथोकी नायक बने। टेकबहादुरले ३२औं र ८०औं मिनेटमा गोल गरेका थिए। ८३औं मिनेटमा चर्च ब्वाइजका राजेन्द्र रावल दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए। प्रतियोगिताको उपाधिसँगै आर्मीले १२ लाख ५० हजार रुपैयाँ पुरस्कार पायो। उपविजेता चर्च ब्वाइजले ६ लाख २५ हजार रुपैयाँमा चित्त बुझायो।
प्रतियोगितामा आर्मीका विवश चौधरी उत्कृष्ट गोलरक्षक भए। चर्च ब्वाइजका सुनील खड्का उत्कृष्ट मिडफिल्डर, आर्मीका दीपक गुरुङ उत्कृष्ट रक्षक, आर्मीकै टंक बस्नेत उत्कृष्ट स्ट्राइकर र आर्मीका नवीन न्यौपानेले उत्कृष्ट प्रशिक्षक भए। फाइनल खेलको म्यान अफ दी म्याच चर्च ब्वाइजका अशोक खवास घोषित भए।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको पुरस्कार आर्मीका टेकबहादुर बुढाथोकीले जिते। बिर्तामोड जायोन स्पोर्टस् क्लबले आयोजना गरेको प्रतियोगितामा भारतमा दुई र नेपालका गरी १० टोलीले भाग लिएका थिए। विजेतालाई १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले पुरस्कार प्रदान गरे।