काठमाडौं ।
बलात्कार आरोपी पूर्वसभामुख कृष्णबहादुर महरालाई हिरसातमा राखेर अनुसन्धान गर्नका लागि ५ दिनको म्याद थप गरिएको छ । काठमाडौं जिल्ला अदालतले महरामाथि थप अनुसन्धानका लागि प्रहरीलाई ५ दिनको अनुमति दिएको काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार आनन्दराज श्रेष्ठले जानकारी दिए ।
यो म्याद २ गते अर्थात शनिबारदेखि लागु हुने जनाइएको छ ।
संसद सचिवालयमा कार्यरत रोशनी शाहीले जबर्जस्ती करणी उद्योगमा उजुरी गरेपछि महरा पक्राउ परेका थिए । यसअघि काठमाडौं जिल्ला अदालतले असोज २८ महरामाथि अनुसन्धानका लागि १३ दिनको म्याद दिएको थियो । महरा असोज १९ गते सभामुखको सरकारी निवास बालुवाटारबाटै पक्राउ परेका थिए ।
आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा करिब ७ घण्टा लामो बयान भएको थियो । बयान सकिएलगत्तै महरालाई काठमाडौं जिल्ला अदालत लगिएको थियो ।
